पनौतीका ७३ घर सम्पदामैत्री बनाइँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पनौतीका ७३ घर सम्पदामैत्री बनाइँदै


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । पनौती नगरपालिकाको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पुरानो शैलीका घर बनाइँदैछन् । नगरको वडा नं ७ स्थित सम्पदा क्षेत्रमा पर्ने एक हजार चार घरमध्ये पहिलो चरणमा ७३ घर सम्पदामैत्री बनाउन थालिएको हो । यसका लागि नगर कार्यालयले स्थानीयलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग गरिरहेको छ । 

नगरले संरक्षित स्मारक क्षेत्रमा रहेका पुराना शैलीका निजी भवनको संरक्षण तथा बाहिरी आवरण सम्पदामैत्री बनाउनेसम्बन्धी प्रोत्साहन मापदण्ड-२०७७ जारी गरी स्थानीयलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको हो ।

नगरको सहयोगमा स्थानीयले पुरातत्त्व विभागले दिएको मापदण्डअनुसारको निजी आवास निर्माण गर्नुपर्ने हुन्छ । नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार नगरस्थित सम्पदा शाखाले स्थानीयले सम्पदामैत्री संरचना निर्माणबारे अनुदान, आवासको नक्सा पुरातत्त्व विभाग तथा नगरबाटै अन्तिम स्वीकृत गराउने काम गर्दै आएको छ । 

सम्पदामैत्री घर निर्माण गर्न परम्परागत इँटा, सुर्की, चुना, टायल वा झिँगटीको छानो, बिजोरमुखे झ्याल प्रयोग गर्नुपर्ने हुन्छ । यस्तै आवास निर्माण गर्दा सटर राख्न नमिल्ने, सिमेन्ट प्रयोग गर्न नपाइने, घरको पुरै भागलाई कौसी बनाउन नपाइने, घरको उचाइ छानोसहित ३५ फिट मात्रै हुनुपर्ने मापदण्ड तोकिएको छ । 

सम्पदा शाखाका इन्जिनियर प्रदीप बस्नेतका अनुसार मापदण्डबमोजिम आवास निर्माण गर्नेलाई प्रोत्साहनबापत एक वर्षमा चरणवद्धरुपमा २९ स्थानीयलाई रु ८४ लाख ६३ हजार तीन सय ३० प्रदान गरिएको छ । नगरपालिकाले घरको बाहिरी आवरण, सार्वजनिक सडक, गल्ली, चोकबाट अगाडि मोहडाको प्रतिवर्गफिट रु पाँच सयका दरले प्रोत्साहनबापत सहयोग उपलब्ध गराउँदै आएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस