चिनियाँ जनकँग्रेसका अध्यक्ष चार दिने भ्रमणमा सोमबार काठमाडौँ आउँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिनियाँ जनकँग्रेसका अध्यक्ष चार दिने भ्रमणमा सोमबार काठमाडौँ आउँदै


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका राष्ट्रिय जकँग्रेसको स्थायी समिति अध्यक्ष ली चाङसु सोमबार नेपाल भ्रमणमा आउँदै छन् ।

चार दिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रिय जनकँग्रेसको स्थायी समिति अध्यक्ष लीले उच्चस्तरीय भेटघाट गर्ने कार्यसूची छ ।

राष्ट्रिय जनकँग्रेसको स्थायी समिति अध्यक्ष ली र सभामुख सापकोटाबिच गत २४ चैतमा भएको भर्चुअल संवादमा आपसमा अनुकूल समयमा भ्रमण गर्ने निम्तो आदानप्रदान गरेका थिए । दुवै मुलुकका विधायिकीबीच यस्ता भ्रमण र विचार आदानप्रदानले थप घनीभूत सम्बन्ध स्थापना हुने उनीहरूको निष्कर्ष थियो । सभामुख सापकोटाको निमन्त्रणाअनुसार परराष्ट्र मन्त्रालयले भ्रमणको प्रक्रिया सुरु गरेको थियो ।

भ्रमणका क्रममा सभामुख सापकोटा र लीबिच समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत छ । संसद् सचिवालयका अनुसार भ्रमणमा संसदीय अनुभव साटासाट र प्राविधिक सहयोगसम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भ्रमणमा दुई देशका सभामुखबिच द्विपक्षीय वार्ता, छलफल हुने र त्यहीँबाट सम्झौताको निष्कर्ष निकालिने बताए । परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको र टेबुल वार्तामै सम्झौता हुने पाण्डेले बताए । त्यस्तै, संसद्को प्रभावकारिता र रचनात्मक विकासका लागि पनि थप चिनियाँ सहयोगको घोषणा हुनेछ ।

भ्रमणमा लीले समकक्षी सापकोटाबाहेक प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटवार्ता गर्ने कार्यक्रम छ । २८ भदौको बिहान शिष्टाचार भेट हुने राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।

गत चैतमा भएको भर्चुअल संवादमा सभामुख सापकोटाले तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थित र सहज ढङ्गले सुचारु गर्न चिनियाँ पक्षसँग आग्रह गरेका थिए । कोभिडपछि सीमित परिमाणमा आयात–निर्यात भइरहेको भन्दै नाका सहज ढङ्गले सुचारु गर्न सापकोटाको आग्रह थियो ।

संवादमा अध्यक्ष लीले खासा, केरुङलगायतबाट हुने व्यापार तथा आवतजावतलाई सुलभ तुल्याइने र नेपालको खेलकुद तथा शिक्षाको विकासमा चीनले योगदान दिने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस