प्रधानमन्त्री देउवा राष्ट्रसङ्घको महासभामा नजाने  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री देउवा राष्ट्रसङ्घको महासभामा नजाने 


२० भाद्र २०७९, सोमबार


काठमाडौँ । अमेरिका भ्रमणको गृहकार्य गरे पनि दुई मुलुकबीचमा मिति तय नभएपछि रोकिएका प्रधानमन्त्री शेरबहादुर देउवा आगामी संयुक्त राष्ट्र सङ्घ (युएन) को ७७ औँ महासभामा सहभागी हुन नजाने भएका छन् ।

गत वर्ष नयाँ सरकार बनेपछि प्रधानमन्त्री देउवाले यही वर्षको असारको अन्त्य वा साउनको पहिलो साता अमेरिका भ्रमण गर्ने गरी परराष्ट्र मन्त्रालयले गृहकार्य गरेको थियो । तर त्यसबीचमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले असार ६ गते अस्वीकार गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाको वासिङ्टन डीसीको भ्रमणको योजना अघि बढ्न सकेन ।

त्यसपछि प्रधानमन्त्री देउवा युएनको महासभामा अमेरिका जाने र त्यही बेलामा द्विपक्षीय भ्रमण पनि गर्ने गृहकार्य पनि भएको थियो । 

प्रधानमन्त्री देउवा महासभामा नजाने बालुवाटारबाट जानकारी आएपछि परराष्ट्र मन्त्री नारायण खड्काले यस पटक पनि न्युयोर्क गएर नेपालको तर्फबाट सम्बोधन गर्ने गरी परराष्ट्र मन्त्रालयको गृहकार्य भएको हो ।

महासभामा संयुक्त राष्ट्रसंघका सदस्य मुलुकका सरकार प्रमुख वा राज्य प्रमुख सहभागी हुन्छन् । उनीहरूले आ–आफ्नो देशको तर्फबाट विश्व मञ्चमा धारणा राख्दै आएका छन् । राष्ट्रसङ्घको हरेक वर्ष हुने सबैभन्दा ठूलो मेलाका रूपमा महासभालाई लिइन्छ । महासभामा एक मुलुकका सरकार प्रमुखहरूले अर्को मुलुकमाथि चित्त नबुझेका विषयमा आरोप–प्रत्यारोप गर्ने छ ।

स्रोतका अनुसार परराष्ट्रमन्त्री महासभामा जाने गरी गृहकार्य भए पनि सरकारले कसको नेतृत्वमा न्युयोर्क पठाउँछ भन्ने बारेमा निर्णय गरिसकेको छैन ।  ।

Tags :
प्रतिक्रिया दिनुहोस