काठमाडौँ । मंगलबारदेखि दशरथ रंगशालमा सुरु हुने छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपका लागि सबै टोलीले तयारी पूरा गरेका छन् । सोमबारको प्रि-म्याच कन्फ्रेन्समा सातवटै टिमले आफ्नो तयारी र लक्ष्यबारे कुराकानी गरेका थिए ।
भदौ २१ देखि असोज ३ गतेसम्म हुने च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपालले भुटानसँग खेल्नेछ । यो खेल मंगलबार साँझ पाँच बजेदेखि दशरथ रङ्गशालामा सुरु हुनेछ ।
विश्व फुटबल महासङ्घ फिफाले पाकिस्तानमाथि झण्डै पाँच वर्ष र भारतमाथि दुई साताको निलम्बन फिर्ता लिएपछि दक्षिण एसियाका सातै टिमले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् ।
यस पटकको मुख्य विशेषता भनेको नेपालले लगातार दोस्रो पटक महिला साफ आयोजना गर्दैछ ।
च्याम्पियनसिप पहिलो पटक दशरथ रंगशालमा आयोजना हुँदैछ । सन् २०१९ मा भएको पाँचौँ संस्करण विराटनगरमा खेलाइएको थियो ।
यस पटक नेपाललाई घरेलु मैदान र दर्शकअघि उपाधि जित्दै अन्तर्राष्ट्रिय महिला फुटबलमा उपाधि खडेरी तोड्ने अवसर छ ।
अघिल्ला प्रतियोगितामा जस्तै यस पटक पनि भारत र नेपाल उपाधिको मुख्य दाबेदारको रूपमा छन् । भारतले यसअघिका पाँचै संस्करणको उपाधि जितेको छ ।
नेपाल चार पटक उपविजेता बन्दा एक पटक सेमिफाइनलबाट बाहिरिएको थियो र पाँचै पटक भारतसँग नै पराजित भएको थियो । यस्तै बङ्गलादेश एक पटक फाइनल पुगेको थियो ।
दोस्रो पटक साफ महिला च्याम्पियनसिपमा नेपालको प्रशिक्षण सम्हालेका कुमार थापाले तीन नयाँ खेलाडीसहित नेपाली टोली घोषणा गरेका छन् ।
‘गोल मेसिन’ सावित्री भण्डारी चोटपछि पुनरागमन गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछिन् । नेपाली टिममा समीक्षा घिमिरे, दीपा शाही र अमिशा कार्कीले पहिलो पटक स्थान बनाएका छन् ।
नेपालले तेस्रो पटक घरेलु मैदानमा ठूलो प्रतियोगिता खेल्दैछ । सन् २०१९ मा मार्चमा भएको साफ च्याम्पियनसिप र २०१९ डिसेम्बरमा भएको १३औं साग फाइनल नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । यस पटक भारतलाई नै हराएर पहिलो पटक च्याम्पियन बन्ने नेपालको लक्ष्य छ ।