सचिव दाहिना भएपछि रमाना लिनुअघि सहसचिवको गोप्यमा सरुवा सेटिङ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सचिव दाहिना भएपछि रमाना लिनुअघि सहसचिवको गोप्यमा सरुवा सेटिङ


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । नियमित प्रक्रिया मानिने कर्मचारी सरुवा पछिल्लो समय कसैलाई दशा त कसैलाई दसैँ नै बन्ने गरेको छ । नितान्त प्रशासनिक प्रक्रियामा राजनीति प्रवेश गराइएसँगै त्यसैको बहानामा मन्त्रालयका निश्चित कर्मचारीहरूको धन्दा नै सरुवा बन्ने गरेको छ ।

बुधवार मात्रै सिंहदरवारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव कृष्ण प्रसाद धिताल ‘गोप्य कक्ष’मा बसेर कर्मचारीको सरुवा सूची काँटछाँट गर्दै थिए । जबकि उनलाई सरकारले भदौ ५ गते नै प्रदेश १ को पर्यटन तथा संस्कृति मन्त्रालयमा सरुवा गरी सकेको छ । तर सहसचिव धिताल भने कार्यकक्ष बाहिरको नेमप्लेटमा बाहिर राख्न लगाएर प्रशासनका केही अधिकृतसहित भित्र गोप्य कोठामा भटाभट सरुवा मिलाउन व्यस्त थिए ।

सहसचिवज्यू हुनुहुन्न ? भन्ने प्रशासन प्रतिनिधिको सवालमा पिए शाखामा कार्यरत कर्मचारीले ‘गोप्य’मा भएको बताए । अनि नेमप्लेटमा किन बाहिर त ? भन्दा ‘बाहिर नै राख्ने’ भनेको अर्का एक कर्मचारीले सुनाए ।

कृषि, पशु सेवा र खाद्य तथा गुण नियन्त्रण गरी तीन वटा महत्त्वपूर्ण विभाग तथा क्वारेनटिन र कार्यालयका गरी सयौँ कर्मचारीको सरुवा गरिँदैछ । जसअन्तर्गत आकर्षक मानिएका कार्यालयमा जान कर्मचारीबिच तँछाडमछाड मात्रै होइन, ‘बोलकबोल’ नै हुने गरेको मन्त्रालय स्रोत बताउँछ ।

मन्त्रालयका सचिव डा. गोबिन्द्र प्रसाद शर्माको निर्देशनमा सरुवा भई सकेका सहसचिव धितालले कर्मचारी खटनपटनको सूची तयार गरीरहेका छन् । सचिव शर्माले सहसचिव धितालको सरुवाबारे नै अनभिज्ञता प्रकट गर्नुले पनि ‘दालमे कुछ काला हे’ भन्ने कुरासमेत पुष्टि गर्दछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशित गरेको सरुवा सूचीको २० औँ नम्बरमा सहसचिव धितालको नाम छ ।

‘उहाँको सरुवाको कुरा मात्रै आएको छ’, सचिव शर्माले भने, ‘मैले पत्र त देखेको छैन ।’

अनि सरुवा भएका धितालको ठाउँमा सहसचिव काली प्रसाद पराजुली भोलि हाजिर हुन आउँदै छन् त भन्ने प्रशासनको सवालमा सचिव शर्माले ‘उहाँको बारेमा पनि आफूलाई थाहा नभएको’ बताए ।

२२ गतेदेखि निर्वाचन आचार संहित लाग्ने भएकोले २० गतेभित्रै सबै कुरा टुङ्ग्याउनु भनेको र सोही अनुसार काम भइरहेको सचिव शर्माको भनाई छ ।

उनले एक दुई वटा बाध्यात्मक परिस्थिति हुने भन्दै आफू २६–२७ वर्षदेखि नै यही मन्त्रालय अन्तर्गत काम गरेकोले सबै कर्मचारीको बारेमा थाहा भएको स्पष्टोक्ति दिए ।

यसरी भईरहेको सरुवामा कर्मचारीहरुले नै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्राविधिक कारणवस सहसचिवको फोटो फरक पर्न गएकोले सच्याइएको छ -सम्पादक

Tags :
प्रतिक्रिया दिनुहोस