पर्यटनमन्त्री श्रेष्ठ र कतारका राजदूतबीच पर्यटन प्रवर्द्धनमा सहकार्यबारे छलफल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पर्यटनमन्त्री श्रेष्ठ र कतारका राजदूतबीच पर्यटन प्रवर्द्धनमा सहकार्यबारे छलफल


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गरेका छन् ।

सोमबार मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा हुनसक्ने सहकार्यका साथै दुईदेशबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

नेपाल र कतारबीच दौत्य सम्बन्ध स्थापित भएको ४६ वर्ष भइसकेको चर्चा गर्दै मन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्ध र सहकार्य अझै फराकिलो होस् भन्ने आफ्नो चाहना रहेको बताए ।

दुई देशबीच पर्यटन प्रवर्द्धनका निम्ति सहकार्य गर्नेबारे उनीहरुबीच छलफल भएको थियो । आगामी नोभेम्बरमा कतारमा आयोजना हुने २२ औँ संस्करणको फिफा विश्वकप प्रतियोगितामा नेपालको पर्यटन प्रवर्द्धन गर्नेबारे पनि उनीहरुबीच छलफल भएको थियो । नेपालको पर्यटन प्रवर्द्धनका लागि कतार सरकार सहयोग गर्न सधैँ तयार रहेको राजदूत हैलले बताए ।

नेपाल-कतार दुईतर्फी हवाई सेवालाई थप प्रभावकारी बनाउनेबारे पनि उनीहरुबीच छलफल भएको थियो । सो अवसरमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेबारे पनि छलफल भएको थियो । राजदूत हैलले मन्त्री श्रेष्ठलाई कतार भ्रमणको निमन्त्रणा दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस