राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ। संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक भएको छ ।

राष्ट्र सङ्घमा रहँदा विश्वले चिनेका ठूला नेतादेखि राष्ट्र एवं सरकार प्रमुखहरूसँगका वार्तालगायतका दुर्लभ अनुभवहरू समेटिएको ‘कुलचन्द्र गौतमः आत्मकथा’ लाई पब्लिकेशन नेपालले तयार पारेको हो ।

विश्व इतिहासलाई प्रभावित पारेका महत्त्वपूर्ण घटनामा गौतमका भोगाइ र सङ्घर्ष समावेश पुस्तक अहिलेको पुस्ताका निम्ति रोचक कथा प्रतीत हुने पब्लिकेशन नेपालले जनाएको छ ।

एसएलसीलगत्तै अमेरिकी विश्वविद्यालयको छात्रवृत्ति पाएका गौतमलाई पढ्न जानका निम्ति तत्कालीन सरकारले पासपोर्ट दिन मानेन । यो मामला उतिबेला शिक्षा मन्त्रालयको एउटा टेबलबाट माथि उठेर मन्त्रीपरिषद् हुँदै स्वयं तत्कालीन राजा महेन्द्रसम्म पुगेको रोचक जानकारी पुस्तकमा समावेश छ ।

यसरी गौतमले मुलुक भित्रैबाट थालेको सङ्घर्षबाट सुरूभएको यात्रा कालान्तरमा अमेरिकी विश्वविद्यालयहरू हुँदै संयुक्त राष्ट्र सङ्घको सहायक महासचिव एवं युनिसेफका उप-कार्यकारी निर्देशकसम्म पुगेको छ ।

यसअघि पनि पब्लिकेशन नेपालबाटै अङ्ग्रेजीमा गौतमको जीवनी प्रकाशन भइसकेको छ । ‘कुलचन्द्र गौतमः आत्मकथा’ भने लेखक गिरीश गिरीसँगको सहकार्यमा तयार पारिएको पब्लिकेशन नेपालले जनाएको छ ।

गौतमले युनिसेफको जागिर सुरुगर्दा पहिलो जिम्मेवारी नै कम्बोडियाको राजधानी नोम्पेन्हबाट थालेका थिए । त्यतिबेला ‘पूर्वको प्यारिस’ भनिने नोम्पेन्हमा एकातिर भर्खर विहेगरेर श्रीमतीसहित पुगेका तन्नेरी गौतमको रोमान्स चलिरहेको हुन्छ भने अर्कोतिर मेकोङ नदीको पारिबाट लगातार विद्रोही खमेररुजले गरिरहेका बम प्रहार । यस्तै अवस्थाका बीच गौतमले काम गर्दागर्दै एक दिन नोमपेन्हको पतन हुन्छ । राजधानी विद्रोहीको कब्जामा परेपछि भएभरका विदेशीहरुको भागाभाग चल्छ । गौतम पनि ज्यान जोगाएर भाग्छन् । त्यसपछि पनि लगातार गौतमले एकपछि अर्को संकटग्रस्त मुलुकहरूमा जिम्मेवारी सम्हाल्दै जान्छन् ।

लामो कालखण्डसम्म हामीले सुन्दै आएको संसारकै महत्त्वपूर्ण घटना र तिनका पात्रबारे हाम्रै नेपालीले गरेको प्रत्यक्षदर्शी वर्णनको रूपमा पनि यो पुस्तक अघि बढेको छ । नेल्शन मण्डेलाजस्ता बितेको शताब्दीकै गिनेचुनेका नायकहरुसँगको व्यक्तिगत अनुभवहरू पुस्तकमा समेटिएका छन् ।

चार सय ७२ पृष्ठ लामो ‘कुलचन्द्र गौतमः आत्मकथा’ पुस्तकको मूल्य नेपाली बजारका लागि ७५० रुपैयाँ राखिएको छ साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने पब्लिकेशन नेपालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस