नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छ : मन्त्री श्रेष्ठ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छ : मन्त्री श्रेष्ठ


११ भाद्र २०७९, शनिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् ।

मन्त्रालयले आज आयोजना गरेको सङ्घ, प्रदेश र स्थानीय तहको पर्यटनसँग सम्बन्धित विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रलाई मजबुद बनाउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गरिनुपर्ने बताएका हुन् । ‘नेपालमा बाह्रै महिनामा पर्यटकीय गतिविधि सञ्चालन गर्नसक्ने जलवायु तथा मौसमी विविधता रहेको छ, पर्यटक आकर्षण गर्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिकस्थलको अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न आवश्यक छ’, उनले भने ।

मन्त्री श्रेष्ठले देशका सातै प्रदेशका पर्यटकीय दृष्टिकोणले आकर्षण र महत्वपूर्ण रहेका स्थानको ‘ब्राण्डिङ’ गरी पर्यटकीय गन्तव्यको विविधीकरण गर्नुपर्नेमा जोड दिए। उनले नेपालमा खेलकुद पर्यटन, स्वास्थ्य पर्यटन, शिक्षा तथा संस्कृति पर्यटनलाई पनि विशेष प्राथमिकता दिएर पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गरे । पर्यटन क्षेत्रको विकासका लागि ‘रि ब्राण्डिङ’ गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

उनले पर्यटन क्षेत्रले लिएको लक्ष्य हासिल गर्न तीनै तहका सरकारबीच समन्वय गरी पर्यटन पुनरुत्थानको कार्यलाई अगाडि बढाउनुपर्ने बताए । ‘पर्यटन देश विकासको महत्वपूर्ण आधार क्षेत्र हो, अर्थतन्त्र र रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक मुद्रा आर्जन गर्ने यो क्षेत्रलाई प्राथमिकता दिनसके देश समृद्धिको यात्रामा अगाडि बढ्छ’, उनले भने ।

उनले मन्त्रालयको आयोजना भएको यस्तो बैठकले संविधानको भावनाअनुरुप सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा समेत टेवा पुग्ने बताए । देशको पर्यटन क्षेत्रको विकासका लागि सबै एकताबद्ध भएर जानुपर्ने उनको भनाइ थियो ।

पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले सङ्घीयताको मर्म र सङ्घीय ढाचाअनुरुप नीतिगत सुधारका साथै योजनाबद्ध कार्यक्रम अगाडि बढाएर कार्यान्वयतर्फ मन्त्रालय अगाडि बढेको बताए ।

उनले कोरोनाका कारण थला परेको पर्यटन उद्योगलाई पुनरुत्थान गर्नका लागि तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । बैठकमा प्रदेश नं १ का पर्यटनमन्त्री खिनु लङ्वा लिम्बू, मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महतो, सुदूरपश्चिम प्रदेशका पर्यटनमन्त्री मानबहादुर धामीले तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरी पर्यटन क्षेत्रको विकास गरिनुपर्नेमा जोड दिए ।

उहाँहरुले प्रदेशस्तरीय हवाई उडानलाई समेत अगाडि बढाउनसके प्रदेश क्षेत्रको पर्यटनले गति लिने बताए । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग गरे । उनले पर्यटन क्षेत्रमा लिइरहेको शुल्कमा एकद्वार प्रणाली लागू गरे पर्यटकलाई सहजता हुने बताए ।

कार्यक्रममा मन्त्रालयका सहसचिव तारानाथ अधिकारी र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटकीय गतिविधिबारे प्रस्तुतीकरण गरेका थिए । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सेवा प्रवाहबारे जानकारी दिएका थिए ।

कार्यक्रममा प्रदेश पर्यटन मन्त्रालयका सचिव, मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखलगायतले नेपालको पर्यटकीय सम्भावना र सरकारले गर्नुपर्ने कामबारे आआफ्नो राय पेश गरेका थिए ।

नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ पर्यटक भित्रिए पनि पछिल्लो दुई वर्ष कोरोनाका कारण पर्यटक आवागमनमा कमी आएको थियो । सन् २०२२ को सुरुआतदेखि जुलाइ महिनासम्म कूल पर्यटक आवागमन दुई लाख ८५ हजार तीन सय ६३ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस