विकासका योजनामा दलीय कुण्ठा त्यागौंँ : पूर्वअर्थमन्त्री पौडेल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

विकासका योजनामा दलीय कुण्ठा त्यागौंँ : पूर्वअर्थमन्त्री पौडेल


११ भाद्र २०७९, शनिबार


रुपन्देही । पूर्वअर्थमन्त्री तथा संघीय सांसद विष्णु पौडेलले दलीय आग्रहभन्दा माथि उठेर विकासका काममा अघि बढ्नुपर्ने बताएका छन् ।

बुटवलमा सम्मेलन केन्द्रको उद्घाटन समारोहमा बोल्दै उनले दीर्घकालीन योजनामा दलीय कुण्ठा नराखेर निरन्तरता नदिए समृद्धि आउन नसक्ने बताएका छन् ।

पौडेलले रुपन्देहीका जनता र जनप्रतिनिधि विकासको नमुना बनेको बताए । ‘यहाँको विकासको गतिले यहाँका जनप्रतिनिधि र स्थानीय गफ गर्ने होइन भन्ने प्रमाणित भएको छ, देशको नमुना बनेको छ, विकासका नमुना मान बनेको छ, विभिन्न क्षेत्रबाट यहाँको मोडल हेर्न आउने अवस्था बनेको छ’ उनले भने ।

बुटवलका जनताको चाहानाले नै यसले सार्थकता पाएको उनले बताएका छन् ।सम्मेलन केन्द्र सञ्चालन मोडालिटि छिटो बनाउनुपर्ने, यो सम्मेलन केन्द्रमा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम यहाँ गरिनुपर्दछ भनेर सरकारले प्रतिबद्धता व्यक्त गरिनुपर्ने उनको भनाइ थियो ।

रुपन्देही निजी क्षेत्रको लगानीका लागि आकर्षण बढेको बताउँदै उनले यो सन्देश देशभर फैलाउनुपर्ने बताएका छन् । ‘केही दीर्घकालीन योजना काम नभएर अड्किएका छन् त्यसलाई सबैको समन्वयमा अगाडि बढाऔँ, म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु त्यसलाई सबै दलको समन्वयमा अगाडि बढाऔँ, विकासमा दलीय भावनाले होइन दीर्घकालीन योजना बनाएर अगाडि बढौँ ।’

‘देशले विकास सिक्नका लागि रुपन्देही आउने वातावरण बनाएका छौँ, यसका लागि म सबैलाई सार्वजनिक आव्हान गर्न चाहन्छु’ पौडेलले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस