देउवासँगको भेटमा ओलीको चासो : गठबन्धन, नागरिकता विधेयक, टीआरसी र महँगी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

देउवासँगको भेटमा ओलीको चासो : गठबन्धन, नागरिकता विधेयक, टीआरसी र महँगी


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

आज बिहान बालुवाटारमा भएको भेटवार्तामा एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी थिए । काँग्रेसका तर्फबाट सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।

भेटमा ओलीले मुख्य चार विषय राखेका थिए । गठबन्धन, नागरिकता विधेयक, ‘टीआरसी’ र महँगीका विषय राखिएको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिए ।

ओलीले निर्वाचन समयमै सम्पन्न हुनुपर्नेमा समेत जोड दिएका थिए । ‘यो निर्वाचन समयमा नै सम्पन्न हुनुपर्छ । भयरहित, स्वतन्त्र रूपमा सम्पन्न हुनुपर्छ,’ नेम्वाङले ओलीको भनाइ उद्धृत गर्दै बाह्रखरीसित भने ।

ओलीले सत्ता गठबन्धनले आफूहरूप्रति निषेधको राजनीति गरिरहेको समेत बताएका थिए । प्रतिस्पर्धाको स्वच्छ मूल्य-मान्यतामा उभिएर अघि बढ्न उनले देउवालाई सुझाव दिए ।

‘गठबन्धनले प्रतिपक्षसँग लोकतन्त्रको मूल्य र मान्यतामा आधारित सम्बन्ध कायम गर्नुपर्छ । लोकतन्त्र भनेको निषेधको राजनीति होइन । तपाईँहरूले निषेधको राजनीति गर्दै हुनहुन्छ । गठबन्धन गर्नुस्, त्यसमा हाम्रो केही छैन,’ नेम्वाङका अनुसार ओलीले भेटमा भनेका थिए, ‘तर, गठबन्धन मूल्य र मान्यतामा आधारित हुनुपर्‍यो । अहिले पाँच बाट सात हुनुहुन्छ क्यारे ! हाम्रो शुभकामना छ । तर, निषेधमा उभिएर होइन, प्रतिस्पर्धाको स्वच्छ मूल्य-मान्यतामा उभिएर अघि बढनु्र्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस