भारतीय सेनाध्यक्ष पाण्डे नेपाल आउँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतीय सेनाध्यक्ष पाण्डे नेपाल आउँदै


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे १९ भदौमा ५ दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउने भएका छन् ।

नेपाल-भारत दुवै मुलुकका सेना प्रमुखलाई एक-अर्काको मुलुकमा मानार्थ महारथीको सम्मान दिने परम्परा छ । त्यसैका लागि उनी काठमाडौँ आउन लागेका हुन् ।

पाण्डेको नेपाल भ्रमण पाँच दिने हुने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए ।

यसअघि २० कात्तिक २०७७ मा पाण्डे अघिका भारतीय सेनाध्यतक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका थिए । पाण्डे अब नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १९ औँ भारतीय सैन्य अधिकारी बन्नेछन् ।

पाण्डेले नेपाल भ्रमणका बेला काठमाडौँका ऐतिहासिक सम्पादा र पशुपतिनाथको पनि दर्शन गर्ने भनिएको छ । नेपाली सेनाका अनुसार सन् १९५० देखि नेपाल र भारतबीच एक-अर्काको देशमा मानार्थ महारथीको सम्मान दिने चलन रही आएको छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए ।

दुई मुलुकका सेना प्रमुखबीच महारथीको सम्मान दिने चलनले दुई देशका सैनिकबीच घनिष्ठ सम्बन्ध रहेको देखाउने सैन्य मामलाका जानकारहरू बताउँछन् । भारतीय सेनाध्यक्ष नरवणेले नेपालले ‘कसैको इसारामा सीमा सम्बन्धी विषय उचालेको’ सार्वजनिक टिप्पणी गरेपछि उनको आलोचना भएको थियो । र, उनलाई महानार्थ महारथीको सम्मान नदिन माग उठेको थियो ।

भारतीय स्थल सेनाको सर्वोच्च पदमा पुग्ने पाण्डे पहिलो इन्जिनियर हुन् । यसअघि भारतीय सेनाको प्रमुख इनफेन्ट्री, आर्मर्ड र आर्टिलरीका अधिकारीहरु मात्रै हुने गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस