शिक्षक सेवा आयोगको नतिजा दसैँ अगाडि प्रकाशन गर्ने तयारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शिक्षक सेवा आयोगको नतिजा दसैँ अगाडि प्रकाशन गर्ने तयारी


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । शिक्षक सेवा आयोगले गत असारमा लिएको स्थायी शिक्षक पदको नतिजा दसैँ अगाडि सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रावि, निमावि र मावि तह गरी विभिन्न विषयका शिक्षकका लागि लिइएको परीक्षाको नतिजा दसैँ अगाडि नै सार्वजनिक गर्ने तयारी गरेको हो ।

अहिले उत्तर पुस्तिका परीक्षणको काम भइरहेको आयोगले जनाएको छ । आयोगले माध्यमिक तहको असोजदेखि कात्तिकभित्रमा नतिजा प्रकाशन गरिसक्ने र मङ्सिरमा अन्तर्वार्ता गर्ने गरी कार्यतालिका बनाएको छ ।

अन्तर्वार्तामा पास भएका शिक्षकहरूलाई पुसभित्रमा सिफारिस गरेर नियुक्ति पत्र दिने भएको छ । त्यस्तै आयोगले निमाविको ढिलोमा मंसिर भित्रमा नतिजा प्रकाशन गर्ने र पुसमा अन्तर्वार्ता लिँदै माघमा सिफारिस गर्ने गरी काम अघि बढाइरहेको छ ।

प्राविको मंसिर भित्रमा नतिजा प्रकाशन गर्ने, फागुनभित्रमा अन्तर्वार्ता गरिसक्ने र चैत्रभित्रमा सिफारिस गरिसक्ने कार्यतालिका रहेको छ ।

आयोगले गत चैत १५ गते माविको सामान्य तर्फको परीक्षा लिएको थियो । जसमा कुल १०० पूर्णाङ्कमा उत्तीर्ण हुन न्यूनतम ५० प्रतिशत अङ्क ल्याउनै पर्ने थियो । तर, पहिलो चरणमै केही विषयमा माग गरे जति परीक्षार्थी उत्तीर्ण हुन सकेका थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस