काठमाडौँ । इलाम नगरपालिकासँग उडान सम्झौता गरी सुरु भएको इलामको सुकिलुम्बा विमानस्थलमा उडान बन्द भएको छ । यस विमानस्थलमा तारा एयरले ११ फागुनदेखि उडान सुरु गरेको थियो ।
यात्रु सुनिश्चित नभएसम्म नियमित उडान राख्दा एयरलाइन्सले आम्दानी गर्न नसक्ने भएपछि वायुसेवा कम्पनीले नगरपालिकासँग सम्झौता गरेको थियो ।
सम्झौता अनुसार हरेक उडानमा ११ जना यात्रुको सिटको ग्यारेन्टी नगरपालिकाले दिएको थियो । अर्थात १८ सिट क्षमताको ट्वीनअटर जहाजमा हरेक उडानमा ११ वटा सिट भन्दा कम यात्रु भएमा जति कम हुन्छ, त्यस बराबरको टिकट वापतको खर्च नगरपालिकाले भुक्तानी दिने गरी उडान सुरु भएको थियो । सुरुवाती चरणमा १२ वटा उडानका लागि नगरपालिकासँग सम्झौता भएको थियो ।
सो सम्झौता सम्पन्न भएसँगै इलाममा पुनः उडान रोकिएको छ । काठमाडौँबाट इलामको हवाई दुरी १ घण्टा हाराहारी पर्छ । ट्वीनअटर जहाज मात्र लैजानु पर्ने भएकाले भाडा महँगो पर्छ । सोहीकारण स्थानीय सरकारसँग ग्यारेन्टी खोजिएको हो । प्रारम्भिक चरणमा गरिएका १२ वटा उडानमा नगरपालिकाले खासै खर्च गर्नु नपरेका कारण समेत यहाँ भविष्यमा नियमित उडानको सम्भावना देखिएको हो ।