विवेकशील साझा पार्टी पुनर्गठन गर्दैछौँ : मिलन पाण्डे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विवेकशील साझा पार्टी पुनर्गठन गर्दैछौँ : मिलन पाण्डे


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । मिलन पाण्डे पक्षले विवेकशील साझा पार्टी पुनर्गठन गर्ने भएको छ । छिट्टै राष्ट्रिय भेला गरेर पार्टीलाई पुनर्गठन गर्न लागिएको पाण्डेले बताएका छन् ।

तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले सङ्घीयता खारेज र धर्म निरपेक्षताबारे जनमत सङ्ग्रह गर्ने प्रस्ताव ल्याएपछि विवेकशील साझा छिन्नभिन्न भएको थियो ।

मिश्रले सुरुमा पाण्डे लगायतका असन्तुष्ट नेताहरूलाई कारबाही गरेका थिए, स्थानीय चुनावमा पार्टीले अपेक्षाकृत मत नल्याएपछि उनले पनि राजीनामा दिए ।

अहिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समेत दल दर्ता हुने नहुने अलमल कायमै छ ।

हाल पार्टीमा गणतन्त्रवादी र राजसंस्थावादी दुई समूह रहेको भन्दै पाण्डेले भनेका छन्, ‘हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान र यही व्यवस्था पक्षधर विचार समूह निरन्तर वैकल्पिक राजनीतिलाई वैचारिक रूपमा सुदृढ र स्पष्ट पार्दै पार्टी स्थापनाको मर्म अनुसार अघि बढिरहेका छौँ । पार्टीको स्थापनाको मर्म विपरीत जाने र नागरिकलाई धोका दिने छुट कसैलाई छैन ।’

जे प्रयोजन र उद्देश्यका लागि पार्टी स्थापना गरिएको हो, त्यसअनुसार अघि बढ्ने पाण्डेले बताएका छन् । ‘वृहत् छलफल र वैकल्पिक राजनीतिका घटकहरू र नयाँ राजनीतिको सम्भावना खोजिरहेका युवाहरूसँगको परामर्श र सहकार्य पछि पार्टी पुनर्गठनको ठोस खाका छिट्टै सार्वजनिक गर्नेछौँ,’ उनले भनेका छन्, ‘हामी छिट्टै राष्ट्रिय भेलाको मिति सार्वजनिक गर्नेछौँ र पार्टीलाई पुनर्गठन गर्नेछौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस