पूर्ववडाध्यक्ष श्रेष्ठ मृत फेला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्ववडाध्यक्ष श्रेष्ठ मृत फेला


२६ श्रावण २०७९, बिहिबार


काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिका-९ का पूर्ववडाध्यक्ष वसन्त श्रेष्ठ मृतावस्थामा फेला परेका छन् ।

वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।

भित्री कच्ची सडकमा ग.१६प ५४६१ नम्बरको स्कुटर बाटोछेउमा रहेको अवस्थामा बाटोको कुनातर्फ शव उत्तानो अवस्थामा फेला परेको प्रवक्ता खनालले बताए ।

घटनास्थलमा नुडन नामक सेतो रङको कीटनाशक विषादीको खोलिएको डिब्बा स्कुटरनजिक भेटिएको जनाइएको छ ।

प्रवक्ता खनालका अनुसार आज बिहान स्थानीयले बाटोमा मानिस लडेको अवस्थामा फेला परेको सूचना वडा प्रहरी कार्यालय वालिङमा दिएका थिए ।

शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा ल्याइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५५ वर्षीय श्रेष्ठ ०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस