स्थानीय राजनीतिक प्रणालीका सक्षमताहरू « प्रशासन
Logo २१ आश्विन २०७९, शुक्रबार
   

स्थानीय राजनीतिक प्रणालीका सक्षमताहरू


२६ श्रावण २०७९, बिहिबार


नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहको गरी तीन तहको शासकीय व्यवस्था गरे सँगै तीनै तहका सरकारले सङ्घीयताको नवीन अभ्यासलाई संस्थागत गर्दै लगेका छन् । नेपालको संविधानमा तीनै तहका सरकारको अधिकार र दायित्व तथा जिम्मेवारी बाँडफाँड गरिएका छन् । आफ्नो अधिकार क्षेत्र भित्रको विषयमा योजना बनाउने, बजेट तथा कार्यक्रम तर्जुमा गर्ने, कानुन बनाउने, सेवा र विकासको प्रवाहलाई जनता समक्ष पुर्‍याउने सबै तहका सरकारलाई अधिकार प्रदान गरेको छ ।

स्थानीय तह स्थानीय राजनीतिक प्रणालीको अभिन्न अङ्ग हो स्थानीय तहका विभिन्न क्रियाकलापहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्थानीय राजनीतिक प्रणाली सँग सम्बन्धित रहेका हुन्छन् । स्थानीय राजनीतिक प्रणालीले स्थानीय तहमा जबाफदेही संस्कारको विकास गरेको हुन्छ । असल राजनीतिक संस्कारको विकास गर्न र राजनीतिक समावेशीकरण मार्फत राजनीतिक चेतनाको अभिवृद्धि गर्न मद्दत गर्दछ । सामाजिक सांस्कृतिक मूल्यहरूको अभिवृद्धि गर्न मद्दत गर्दछ ।

स्थानीय जनतालाई सेवा र विकासको प्रवाह गर्ने र जनजीविकाका विविध पक्षहरूसँग सरोकार राख्ने स्थानीय तह जबाफदेही संस्कारबाट हुर्किएका छन् । लोकतन्त्रको पाठशालाको रूपमा रहेका स्थानीय तहहरू जनताप्रति उत्तरदायी र जनताको नजिकको सरकार पनि हुन । स्थानीय राजनीतिक प्रणाली घरेलु, राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरणबाट पनि प्रभावित हुन्छन् । राष्ट्रिय र प्रदेश स्तरमा भएका सरकार परिवर्तन सँग स्थानीय राजनीति पनि प्रभावित भएका हुन्छन् । स्थानीय राजनीतिले बोक्ने आदर्श प्रदेश र सङ्घीय सरकारसँग पनि सम्बन्धित हुन्छन् । स्थानीय राजनीतिक प्रणालीको सक्षमता उनीहरूले गर्ने कार्यसम्पादनको स्तरमा निर्भर गर्दछ ।

स्थानीय राजनीतिले राष्ट्रिय र क्षेत्रीय वातावरणमा प्रदर्शन गर्न सक्ने कार्यसम्पादन तथा खुबी नै स्थानीय राजनीतिक प्रणालीका सक्षमता हुन । स्थानीय राजनीतिक प्रणाली स्थानीय समस्या र विकास सँग केन्द्रित हुन्छ । स्थानीय राजनीतिमा पनि राजनीतिक प्रणाली भित्रैबाट परिवर्तनका मागहरू आएका हुन्छन् । विभिन्न प्रकारका हित र दबाब समूहले आ-आफ्नो हित प्रवर्धन गर्नका लागि परिवर्तनको माग गरेका हुन्छन् । स्थानीय राजनीतिक नेतृत्वले स्थानीय जनताबाट उठेका माग र परिवर्तनलाई केलाएर विवेकपूर्ण निर्णय गर्नुपर्ने हुन्छ । स्थानीय राजनीतिक प्रणालीका सक्षमताहरूलाई निम्नानुसार बुँदागत रूपमा प्रस्तुत गर्न सकिन्छ ।

क) दोहन सक्षमता
स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरणबाट भौतिक, मानवीय, प्राविधिक, आर्थिक स्रोत साधनहरू प्राप्त गर्न सक्ने क्षमतालाई दोहन सक्षमता भनिन्छ । सबै स्थानीय तह वा सबै स्थानीय तहका राजनीतिक नेतृत्वले राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरणबाट समान रूपले दोहन गर्न सक्दैनन् । स्थानीय सरकारले कुन मात्रामा दोहन गर्न सक्दछ ? समाजको कुन वर्ग वा समूहबाट दोहन गर्न सक्दछ? दोहनका लागि प्रयोग गरिने विधि, प्रक्रिया, संरचना र कार्यविधि केके हुन? जस्ता कुराहरूले दोहन सक्षमताको निर्धारण गर्दछ । स्थानीय तहमा रहेका कर्मचारीहरूको कार्यसम्पादन क्षमता, उनीहरूको दक्षता, लगनशीलता, काम प्रतिको निष्ठा जस्ता कुराहरूले दोहन कार्यको निधो गर्दछ ।

सबै स्थानीय तहलाई सङ्घीय र प्रदेशबाट समान रूपले बजेट तथा कार्यक्रम आउँदैन । स्थानीय राजनीतिक नेतृत्वको प्रभाव सङ्घ र प्रदेशमा जस्तो छ सोही अनुपातमा योजना तथा कार्यक्रम र बजेट आउँदछ । नीति योजना कार्यक्रम र बजेट तर्जुमामा शासक ठालुहरूको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । स्थानीय स्रोत साधनको सङ्कलन त्यसको परिचालनले स्थानीय तहको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ ।

ख) नियन्त्रण सक्षमता
स्थानीय व्यक्ति तथा समूहको आचरण र बानी व्यवहारलाई नियन्त्रण गर्न सक्ने क्षमता स्थानीय राजनीतिक प्रणालीको नियन्त्रण सक्षमता हो । स्थानीय सरकारको कार्यक्षेत्र जति बढ्दै जान्छ त्यति नै नियन्त्रण क्षमता पनि बढाउँदै जानुपर्ने हुन्छ । समाजमा हुने हिंसा, हत्या, कुटपिट चोरी जस्ता अपराधहरूलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । समाजमा शान्ति र सुव्यवस्था कायम गर्न स्थानीय सरकार क्रियाशील हुनुपर्दछ । स्थानीय नागरिकहरूको सम्पत्तिको अधिकार, सुरक्षा, सामाजिक र सांस्कृतिक जीवनयापन गर्न पाउने अधिकार, दैनिक रूपमा सरल र सहज ढङ्गले उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नुपर्दछ । सङ्घीय, प्रादेशिक र स्थानीय कानुनको माध्यमबाट व्यक्ति वा समूहको व्यवहारलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । समाजमा शान्तिपूर्ण वातावरणमा हिँडडुल गर्न पाउने अधिकार, विचार र अभिव्यक्तिको स्वतन्त्रता, स्थानीय स्तरमा सङ्घ र सङ्गठन खोल्न पाउने अधिकारलाई भने नियन्त्रण गर्नु हुँदैन ।

ग) वितरण सक्षमता
स्थानीय राजनीतिक प्रणालीले प्रदान गर्ने वस्तु तथा सेवा, विभिन्न किसिमका अवसर र सम्मानहरूको बाँडफाँडलाई वितरण सक्षमता भनिन्छ । स्थानीय तहका नेतृत्वहरुले स्थानीय तहका जनताहरूलाई विभिन्न किसिमका वस्तु तथा सेवा वितरण गरेका हुन्छन् । स्थानीय सरकारबाट प्राप्त हुने विभिन्न किसिमका अनुदान, योजना, सेवा करारमा लगाइदिने जागिर, विभिन्न किसिमका सम्मान वितरण गर्ने जस्ता कार्यहरू गरिरहेका हुन्छन् । बाढी पहिरो आगलागी जस्ता विपदहरुमा त्रिपाल बढ्ने, उनीहरूलाई सान्त्वना दिने, तार जालीको व्यवस्था गर्ने, राहत रकम बढ्ने, विभिन्न किसिमका सामानहरू बढ्ने जस्ता कार्यहरू गरेका हुन्छन् । विपद् र समस्यामा परेका बेला सहाभुति समेत बाडेका हुन्छन् । स्थानीय जनताको माग र आवश्यकताका आधारमा सहभागितामूलक पद्धतिबाट योजना छनौट तथा कार्यान्वयन गर्ने गरिन्छ । यसरी वितरण गरिने वस्तु तथा सेवा समानुपातिक ढङ्गले वितरण गर्नुपर्दछ । एकै व्यक्ति वा समूहको हातमा केन्द्रित भएमा त्यसले स्थानीय राजनीतिक द्वन्द्व निम्त्याउँदछ । स्थानीय तहमा प्रगतिशील कर प्रणालीको अवलम्बन गरी आर्थिक सामाजिक खाडललाई कम गर्ने गरी काम गर्न सकिन्छ ।

घ) प्रतिकात्मक सक्षमता
स्थानीय राजनीतिमा विभिन्न किसिमका प्रतीकहरूको प्रवाहलाई प्रतिकात्मक सक्षमता भनिन्छ । स्थानीय राजनीतिक नेतृत्वले स्थानीय जनसमुदायको विश्वास जित्न, लोकप्रियता अभिवृद्धि गर्न र जनतालाई आफ्नो पक्षमा ढाल्न विभिन्न प्रयत्न गरेका हुन्छन् । स्थानीय समाजसेवी, विद्धान, सामाजिक अभियन्ता, पत्रकारहरूले विभिन्न किसिमबाट प्रतिकात्मक सक्षमताको अध्ययन गरिरहेका हुन्छन् । स्थानीय सामाजिक सांस्कृतिक कार्यक्रम, जनपरिचालन, सङ्घसंस्था विद्यालयका वार्षिकोत्सव जस्ता कार्यक्रमहरूको उद्घाटन स्थानीय तहको नेतृत्वबाट गरिरहेका हुन्छन् । स्थानीय राजनीतिक नेतृत्वको भाषण सुन्न आउनेको भिड, भाषणको क्रममा जनताले गरेका जयजयकार, ताली थपडी, नेतृत्वसँग सेल्फि खिच्ने चलन, जनमत सर्वेक्षण जस्ता कुराहरूले स्थानीय नेतृत्वको प्रभावको अध्ययन गर्न सकिन्छ ।

विभिन्न किसिमका प्रकोप, स्थानीय सङ्कटका बेला देशभक्तिपूर्ण प्रतीकहरूको माध्यमबाट पनि जनताबाट अतिरिक्त समर्थन जुटाउन सकिन्छ । स्थानीय तहको विकासका लागि आकर्षक नारा दिएर पनि जनताको मन जित्न सकिन्छ । बाढी पहिरो, कोरोना महामारी जस्ता बेलामा स्थानीय नेतृत्वको जनताप्रतिको संवेदनशीलताले जनताको मन जितेको उदाहरण पनि छ ।

ङ) उत्तरदायी सक्षमता
स्थानीय राजनीतिक प्रणालीले आगत र निर्गत पक्षहरूबिच सु-सम्बन्ध कायम गर्नु नै उत्तरदायी सक्षमता हो ।स्थानीय सरकार स्थानीय जनताको मागप्रति कुन हदसम्म उत्तरदायी हुन्छन् भन्ने भन्ने विषय प्रमुख हुन्छ । साधन स्रोतको न्यूनताले गर्दा स्थानीय जनताका मागहरू पुरा गर्न सकिँदैन । सीमित स्रोत र साधनलाई अधिकतम परिचालन गरी उनीहरूप्रति उत्तरदायी हुनुपर्दछ । स्थानीय राजनीतिक प्रणाली कस प्रति उत्तरदायी छ? कस्ता नीतिहरू प्रति उत्तरदायी छ? आफ्नो जनताप्रतिको उत्तरदायी आचरणलाई कायम राख्न कुन हदसम्म प्रयत्नशील छ? जस्ता कुराहरूले उत्तरदायी संस्कारको विकास गरिरहेको हुन्छ ।

स्थानीय जनताका समस्या, विकास निर्माण र सेवा प्रवाहमा पर्याप्त ध्यान पुर्‍याउन नसकेमा हिंसा वा प्रदर्शनको मार्ग अपनाउन बाध्य हुन्छन् । महिला प्रमुख भएको स्थानीय तहमा महिला तथा बालबालिका र ज्येष्ठ नागरिक सँग सम्बन्धित, जनजाति समुदायको प्रमुख भएको स्थानीय तहमा जनजाति लक्षित, दलित समुदायको प्रमुख भएको स्थानीय तहमा दलित लक्षित र अल्पसङ्ख्यक समुदायको प्रमुख भएको स्थानीय तहमा अल्पसङ्ख्यक केन्द्रित नीति योजना कार्यक्रमको बाहुल्यता पाइन्छ भने सम्बन्धित समुदायका नागरिक अलि बढी क्रियाशील भएको पाइन्छ ।

च) घरेलु र अन्तर्राष्ट्रिय सक्षमता
स्थानीय राजनीतिलाई घरेलु, राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरणले पनि प्रभाव पारिरहेको हुन्छ । अन्तर स्थानीय तह समन्वय, एक स्थानीय तहले अर्को देशको स्थानीय तह वा सहर सँग कायम गर्ने भगिनी सम्बन्ध, विकास सहयोग सम्बन्धी ऋण, अनुभव र सूचना आदानप्रदान जस्ता कुराहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय दोहन सक्षमता बढाउँदछ । स्थानीय तहहरू बिचको संयुक्त लगानीमा गरिने विकास योजनाहरू पनि यस अन्तर्गत पर्दछन् ।

निष्कर्ष:
स्थानीय स्तरमा सेवा र विकासको प्रवाहलाई जनता समक्ष पुर्‍याउनका लागि स्थानीय तहहरू निर्माण भएका हुन । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक वातावरणबाट स्थानीय तहहरू पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन्छन् ।स्थानीय राजनीतिक प्रणालीलाई अझ बढी सक्षम र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको छ । स्थानीय राजनीतिमा सन्तुलन कायम गरी नेपालको संविधान र प्रचलित कानुनले प्रदान गरेका अधिकारहरूको प्रयोग गर्दै जनतालाई अधिकतम सेवा र विकासको प्रवाह गर्न स्थानीय तहहरू क्रियाशील हुनु नै आजको आवश्यकता हो ।

Tags :
प्रतिक्रिया दिनुहोस