कर्मचारी सरुवामा मेयर र प्रमुख प्रशासकीय अधिकृतले मनोमानी गरेको आरोप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी सरुवामा मेयर र प्रमुख प्रशासकीय अधिकृतले मनोमानी गरेको आरोप


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा कर्मचारीहरूको सरुवाको विषयलाई लिएर विवाद भएको छ । नगर प्रमुख सजरुद्दिन मुसलमानसँग मिलेर प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले कर्मचारीहरूको सरुवा गरेको भन्दै विरोध भएको हो ।

कर्मचारीको सरुवा बिना प्रक्रिया गरिएको भन्दै उपप्रमुख कल्पना हरिजनसहितका जनप्रतिनिधि र कर्मचारीहरूले विरोध जनाएका छन् । कर्मचारीलाई पूर्वाग्रह तरिकाले दरबन्दी नै नरहेको स्थानमा सरुवा गरेको आरोप प्रमुख प्रशासकीय अधिकृतमाथि लागेको छ ।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले नगरपालिकाका छैटौँ तहका प्रशासनका अधिकृतहरू रचना गौतम पाण्डे क्षेत्रीलाई सोही नगरपालिकाको वडा नं ७ र ८ को वडा सचिवका रूपमा र दामोदर पाण्डेलाई वडा नं १० को वडा सचिवको जिम्मेवारी दिएर पठाएका थिए । साउन १५ गते सरुवाको पत्र पाइसकेका प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले साउन २० गते कार्यालय समय सकिएपछि कर्मचारीहरूको सरुवाको निर्णय गरेको जनप्रतिनिधि र कर्मचारीहरूले बताएका छन् ।

उपप्रमुख कल्पना हरिजनले पाण्डेयले विधि प्रक्रिया मिचेर कर्मचारी सरुवाको निर्णय गरेको बताइन् । कर्मचारीमाथि आपत्तिजनक र ज्यादतीपूर्ण व्यवहार गरेको उनको आरोप छ । उपप्रमुख हरिजन, वडा नम्बर १ का अध्यक्ष सुरज कलवार, ३ का अध्यक्ष अकरामुद्दीन नाउ मुसलमान, ४ का अध्यक्ष विनोद श्री वास्तव, ७ का अध्यक्ष ध्रुव यादव, १० का अध्यक्ष विनोद कहाँ र र १२ का अध्यक्ष हरिकेश लोधले नगरप्रमुख मुसलमान, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर कुँवर र जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईँलाई प्रत्यक्ष भेटेर सोमबार ज्ञापन पत्र बुझाएका छन् ।

सरुवामा प्रक्रिया पुगेन : उपप्रमुख
नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले कर्मचारीहरूले सरुवाको विषयमा गुनासो गरेपछि यसबारे आफूहरूले विरोध जनाएको बताइन् ।

‘कार्यपालिका र परिषद्मा कुनै निर्णय नगराई सरुवा गरिएको छ ।’ उनले भनिन्, ‘प्रमुख प्रशासकीय अधिकृतले चोर बाटोबाट कर्मचारी सरुवा गर्नु भएको छ । कर्मचारी सरुवामा हाम्रो आपत्ति होइन, नियम र प्रक्रिया बिना गरिएको काम प्रति आपत्ति हो ।’ योग्य, अनुभवी र दक्ष कर्मचारी पालिकालाई आवश्यक रहेको उनको भनाइ छ ।

‘योग्यता नै नपुगेका व्यक्तिलाई कम्प्युटर अपरेटर बनाएको सुन्नमा आएको छ । यस्तो गर्नु भएन,’ उनको भनाइछ । प्रमुख प्रशासकीय अधिकृत पाण्डेय नियमित कार्यालय नआउने गरेको उनको आरोप छ ।

सरुवा होइन व्यवस्थापन हो : नगरप्रमुख
नगरप्रमुख मुसलमानले कर्मचारीको आवश्यकता अनुसार व्यवस्थापन गरिएको जनाकारी दिएका छन् ।
‘कर्मचारीहरूको सरुवा गरेको होइन, व्यवस्थापन गरेको हो ।’ उनले भने, ‘एक जना सचिवले ५ वटा वडा हेरिरहेको अवस्था थियो । त्यही कारणले हालको लागि कर्मचारीको व्यवस्थापन गरेका हौँ ।’

उपप्रमुख लगायतका जनप्रतिनिधि र कर्मचारीहरूले सरुवाको विषयमा जनाएको विरोधबारे उनले अविज्ञता प्रकट गरे । तर, कर्मचारीहरू सरुवा गर्दा प्रमुख प्रशासकीय अधिकृतले आफूसँग समन्वय गरेको उनले बताए । वडा वाट कर्मचारी नभएको गुनासो आएपछि आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन गरिएको नगरप्रमुख मुसलमानले जानकारी दिए ।

राजनीतिकरण गरियो : प्रमुख प्रशासकीय अधिकृत पाण्डेय
प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले वडाका जनप्रतिनिधिहरूले वडा सचिवको माग गरेकाले कर्मचारी खटाएको बताएका छन् । ‘एउटै वडा सचिवले ६ वटा वडा हेर्नुपर्ने अवस्था थियो ।’ उनले भने, ‘वडा सचिव नहुँदा नागरिकको गुनासो आएपछि गुनासो सम्बोधन गरेका हौँ ।’

जान तयार भएका दुई जना कर्मचारीहरूलाई सरुवा गरेको उनले जानकारी दिए । स्वास्थ्य र प्रशासनका छैटौँ तहका कर्मचारीहरूलाई खटाइएको हो । प्रक्रिया नपु¥याइ सरुवा गरेको आरोपको विषयमा उनको जवाफ थियो ‘आवश्यकताको आधारमा प्रमुख प्रशासकीय अधिकृतले खटाउने कुरा हो । मैले मेयरसँग समन्वय गरेको छु । टिप्पणी उठाइएको छ । उहाँले सदर गर्नु भएको छ ।’ यो विषय नगर सभाको माइनुटमा पनि उल्लेख गरेको उनले जानकारी दिए ।

कर्मचारी सरुवाको विषयलाई राजनीतिकरण गरिएको पाण्डेयको आरोप छ । राजनीतिक भागबन्डाका कारण आफूलाई विवादमा ल्याउन खोजिएको उनको गुनासो छ । कर्मचारी सरुवाको विषयमा कुनै असन्तुष्टि भए सम्बन्धित व्यक्तिसँग छलफल गरी समाधान खोज्नु पर्नेमा सामाजिक सञ्जालमा विरोध र प्रचारबाजी गरिएको उनले बताए ।

कर्मचारी सरुवाको विषयलाई लिएर विवाद भएपछि प्रमुख प्रशासकीय अधिकृत पाण्डेयको पनि सरुवा भएको छ । उनको पाल्पाको रामपुर नगरपालिकामा सरुवा भएको हो । सरुवा भएको आधिकारिक जानकारी प्राप्त नभए पनि सामाजिक सञ्जालबाट सरुवाबारे जानकारी प्राप्त गरेको उनले बताए ।

विवादको कारण
नगरपालिकामा कार्यरत ९ जना करारका कर्मचारीलाई हटाएर आफू निकटका १३ जना कर्मचारीलाई करारमा नियुक्त गर्ने निर्णय गरेर बिदामा बसेको आरोप प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेय माथि लागेको छ । बिदामा बसेको बेला निमित्त प्रमुख प्रशासकीय अधिकृत रचना गौतम पाण्डे क्षेत्रीलाई आफूले नियुक्त गरेका १३ जना कर्मचारीको नियुक्ति पत्रमा हस्ताक्षर गर्न दबाब दिएको । जसबाट प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीबिच विवाद सुरु भएको थियो ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले नगरकार्यपालिकाले छुट्टाएको कर्मचारी प्रोत्साहन भत्ता केही स्वास्थ्यकर्मीलाई उपेक्षा गर्दै विना कुनै कार्यविधि आफू नजिकका कर्मचारीलाई बाँडेको भन्दै स्वास्थ्यकर्मीहरूले सङ्घर्ष समिति नै गठन गरेर यसको विरोध गरेका थिए ।

१३ वटा वडा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकामा प्रमुख काँग्रेसले जितेको छ भने उपप्रमुख एमालेले जितेको छ । त्यस्तै एमालेले ५, काँग्रेस र जसपाले ३–३, तथा लोसपा र जनमत पार्टीले १–१ वडा जितेका छन् ।

जनमत पार्टीको विरोध प्रदर्शन
नगरपालिकामा करारका कर्मचारीलाई हटाइएकोमा आपत्ति जनाउँदै जनमत पार्टीले नगरप्रमुखलाई ध्यानाकर्षण गराएको छ । नगरपालिकाले नियम विपरीत पुराना कर्मचारी हटाई नयाँ भर्ना गरेको, प्रशासनिक खर्च बढाउने गरी कर्मचारीलाई अतिरिक्त खाजा खर्चबापत ५२ लाख रुपैयाँ बजेट छुट्याएको, साउन ५ गते पार्टीले बुझाएको ध्यानाकर्षण पत्रबारे पार्टीले नगरप्रमुख सजरुद्दिन मुसलमानलाई ध्यानाकर्षण गराएको हो ।

नगरप्रमुख मुसलमानको जवाफ सन्तोषजनक नआएपछि जनमत पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्तासहितको टोलीले नगर कार्यालयको कार्यालय अगाडी विरोध प्रदर्शनसमेत गरेका थिए । करारका ९ जना कर्मचारी हटाएर ११ जना नयाँ नियुक्ति गरेको प्रति विरोध जनाउँदै जनता पार्टीले योग्यताको आधारमा कर्मचारी नियुक्ति गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस