जापानका नेपालीलाई अहिले नै फर्केर आउनु भन्ने अवस्था छैन : प्रचण्ड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जापानका नेपालीलाई अहिले नै फर्केर आउनु भन्ने अवस्था छैन : प्रचण्ड


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि क्षेत्रले नै नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउने बताएका छन् । विद्युत र पर्यटनसँगै कृषि आर्थिक विकासको प्रमुख आधार भएको उनको भनाइ थियो ।

जापान भ्रमणमा रहेका प्रचण्डले नेपाली समुदायसँग अन्तरक्रियाको क्रममा यस्तो बताएका हुन् । यस क्रममा उनले अहिलेको सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताएका थिए ।

यस्तै नेपाल पर्यटनको अनन्त पर्यटन विकासको केन्द्र हुनसक्ने उनको भनाइ थियो । उनले भने, ‘अहिले नेपाल सरकारको नीति कार्यक्रम बनाउँदै गर्दा र बजेटबाट पनि नेपाल कता लैजाने भनिरहँदा मेरो ध्यान कृषिको आधुनीकिकरण र यान्त्रिकरण तथा यसको औद्योगिक विकासमा मेरो ध्यान छ ।’

तर देशको विकासमा विदेशमा रहेका नेपालीको महत्त्वपूर्ण भूमिका हुने संकेत गर्दै उनले उनीहरूलाई नेपालमा फिर्ता बोलाउने अवस्था अहिले नै अझै नरहेको बताए ।

जापानमा रहेका नेपालीहरूलाई अहिले नै स्वदेश फर्किएर आउनु भन्ने अवस्था नरहेको भन्दै दाहालले केही समयपछि उनीहरूलाई स्वदेश फर्काउने योजना रहेको बताए । यसका लागि आफूहरूले नेपालमा राजनीतिक स्थायित्व र स्थिरताको वातावरण बनाउँदै गरेको दाहालले बताएका थिए ।

दाहालले बलियो राजनीतिक केन्द्र बनाएपछि आधिकारिक रुपमा विदेशमा रहेका नेपालीलाई फिर्ता बोलाउने दिनको ब्यग्र प्रतिक्षामा रहेको पनि बताएका थिए ।

प्रचण्डले भने, ‘अझै मैले तपाइँहरूलाई ल आउनुहोस् नेपाल भन्ने अवस्था भएको छैन । तपाइँहरूलाई प्रष्ट रुपमा भन्नुपर्दा, राजनीतिक स्थायित्व र सुशासनको मोडालिटीलाई प्रोमोट गर्ने वातावरण बनाइसकेपछि र बलियो राजनीतिक केन्द्र बन्यो भन्ने सन्देश दिएर म फेरि तपाइँहरू समक्ष आउने छु र आधिकारिक रुपमा तपाइँहरूलाई अब तपाइँहरूको सबै तागत नेपालमा लगाउनु भन्ने छु । जो जहाँ भए पनि नेपालको विकास यात्रामा तपाइँको सहभागिता चाहियो भन्ने दिन आउँछ । म ब्यग्रतापूर्वक त्यो दिनको प्रतिक्षामा छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस