प्रचण्ड जापान प्रस्थान, श्रेष्ठ कार्यवाहक अध्यक्ष   « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड जापान प्रस्थान, श्रेष्ठ कार्यवाहक अध्यक्ष  


२१ श्रावण २०७९, शनिबार


काठमाडौँ । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने भ्रमणका लागि जापान प्रस्थान गरेका छन् । 

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका हुन् । उनको साथमा स्वकीय सचिव रमेश मल्ल, छोरी गङ्गा दाहाल, सूर्य किरण रहेका छन् । 

प्रचण्ड नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा त्यसतर्फ गएका हुन् । उनले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्नेछन् । 

अगस्ट ६ मा हिरोसिमा घटना भएको ७५ वर्ष पूरा हुँदैछ । अगस्ट ७ आइतबार अध्यक्ष प्रचण्डले हिरोसिमा भ्रमण गर्ने भ्रमण तालिका छ । 

त्यस्तै, आइतबार नै नेपाली जनप्रगतिशील मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरूबीच ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रियामा  प्रमुख अतिथिका रूपमा सहभागी बन्नेछन् । 

जापानमा रहँदा जापानको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग पनि प्रचण्डको भेटवार्ताको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रचण्ड २५ साउनमा स्वदेश फर्किनेछन् । जापान भ्रमणका क्रममा प्रचण्डले पार्टीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मा दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस