समन्वय नगरी सरुवा गरेको भन्दै प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

समन्वय नगरी सरुवा गरेको भन्दै प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिकाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ।

समन्वय नगरी सरुवा गरेको भन्दै अधिकृतलाई हाजिर नगराइ गाउँपालीका फिर्ता गरेको हो ।

सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौरस्थित कार्यालय पुगेका थिए।

‘साउन ५ गतेको निर्णयअनुसार मङ्गला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर हाजिर हुन गएको थिएँ। मन्त्रालयले समन्वय नगरी सरुवा गरेर पठाएकाले हाजिर गराउन नसक्ने पत्र दिएर पठाउनुभयो,’ उनले भने।

मङ्गलाका प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाको हालै अन्यत्र सरुवा भएको थियो।

बागलुङको काठेखोला गाउँपालिकाका प्रशासकीय अधिकृत कार्कीलाई मन्त्रालयले मङ्गलामा सरुवा गरेर पठाएको हो। पालिकाले हाजिर नगराएपछि बागलुङ फर्केका कार्कीले मन्त्रालयमा जानकारी गराउने बताए।

मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले “मन्त्रालयले एक जनालाई भनेर अर्कालाई सरुवा गरेर पठाएकाले हाजिर नगरी फिर्ता गरेको” बताए।

‘उहाँ (कार्की) पनि सल्लाह समन्वय नगरी सरुवा भएर आउनुभयो। मन्त्रालयले एउटालाई भनेर अर्कालाई सरुवा गरेर पठाएछ,’ उनले भने।

काम गर्नलाई सहज र सहयोग गर्ने प्रशासकीय अधिकृत चाहिने अध्यक्ष रोकाले बताए।

प्रशासकीय अधिकृत ढुङ्गानाको सरुवा भएपछि गाउँपालिकाले सूचना अधिकारी राजेन्द्र आचार्यलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस