तीनकुनेको कल सेन्टरबाट १ चिनियाँ र २ भारतीयसहित ३६ जना पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

तीनकुनेको कल सेन्टरबाट १ चिनियाँ र २ भारतीयसहित ३६ जना पक्राउ


९ श्रावण २०७९, सोमबार


पक्राउ

काठमाडौँ । काठमाडौँको तीनकुनेको कल सेन्टरबाट प्रहरीले १ चिनियाँ, २ भारतीयसहित ३६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगर–९ तीनकुनेस्थित वल्र्ड सर्भिस सेन्टर (कल सेन्टर) मा अवैध तवरले कामदारहरू राखी कल सेन्टर सञ्चालन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

कल सेन्टरमा सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाक, धम्की दिई समाजमा उच्छृङ्खल गतिविधि गरिरहेको अवस्थामा सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँ र नगर प्रहरी कार्यालय, प्रहरी वृत्तहरुसमेतबाट खटिएको प्रहरी टोलीद्वारा विद्युतीय उपकरणसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट प्रहरीले ल्यापटप, कम्प्युटरलगायत विद्युतीय उपकरणहरु बरामद गरेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसअघि २०७६ पुसमा गैरकानुनी गतिविधि गरेको आरोपमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरू पनि अनधिकृत रूपमा कल सेन्टर सञ्चालन र नेपालमा बसेर चिनियाँ नेटवर्किङ व्यवसाय चलाएको आरोपमा पक्राउ परेका थिए ।

यसअघि आइतबार रुपन्देहीको तिलोत्तमास्थित जानकीनगरमा भारतीयले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो । प्रहरीले कल सेन्टरबाट अवैध गतिविधि गरेको आरोपमा ९ जना सञ्चालकलाई पक्राउ गरेको छ ।

ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरबाट अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्‍यो भनी ठगी गर्ने काम भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस