कारागार व्यवस्थापन विधेयक पारित गर्न गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि सदन स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कारागार व्यवस्थापन विधेयक पारित गर्न गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि सदन स्थगित


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधिसभामा पेस भएको कारागार व्यवस्थापन विधेयक पारित गर्नका लागि गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभाबाट कारागार व्यवस्थापन सम्बन्धी ऐन पारित गर्नका लागि निर्णयार्थ पेस हुन लागेका बेला नेपाल मजदुर किसान पार्टीका सदस्य प्रेम सुवालले बहुमत भए-नभएको यकिन गर्न माग गरेका थिए । त्यसै मागअनुसार सभामुख अग्निप्रसाद सापकोटाले ३ मिनेटेको घण्टी बजाएका थिए ।

घण्टी बजाउँदा पनि गणपूरक संख्या नपुगेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिए लगत्तै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले विधेयकलाई निर्णयार्थ पेस गर्ने तयारी गरेका बेला सांसद सुवालले गणपूरक संख्या पुगे नपुगेको यकिन गर्न माग गरेका थिए ।

नेपालको संविधान धारा ९४ बमोजिम कुनै पनि प्रस्ताव सदनमा निर्णयार्थ प्रस्तुत गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य हुनुपर्ने व्यवस्था छ ।

उक्त प्रस्ताव पेस गर्न उक्त गणपूरक संख्या नपुग भएको भन्दै सुवालले प्रश्न उठाएपछि सभामुख सापकोटाले संख्या पुगे नपुगेको यकिन गर्नका लागि संसद सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए ।

त्यसै निर्देशनका आधारमा ३ मिनेट घण्टी बजाइएको थियो । घण्टी बजाएर पनि गणपूरक संख्या यकिन गर्दा गणपूरक संख्या ६९ पुग्नुपर्नेमा ६७ जना मात्रै पुगेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको सभामुख सापकोटाले जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस