काठमाण्डौँ उपत्यकाको फोहोर व्यवस्थापन आज बालेनको मात्र टाउको दुखाइको विषय हो र ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाण्डौँ उपत्यकाको फोहोर व्यवस्थापन आज बालेनको मात्र टाउको दुखाइको विषय हो र ?


७ श्रावण २०७९, शनिबार


फागुन महिनादेखि नउठेको फोहोर जेठको अन्तिम साता उठछकि भन्ने आसा थियो त्यति नै वेला नयाँ बानेश्‍वरबाट साथीले गरेको फोनको पहिलो प्रश्न थियो फोहोर उठायो त ? नभन्दै टर्‍रर्रर्र सिट्ठी बज्यो  म हत्त न पत्त १० वटा ठुला प्लाष्टिकका झोला लगेर गाडीमा राखी दिए । तत्काल समस्या टर्‍यो ।

तर महानगरपालिकाको भनिएको समस्या त ज्यूका त्यू छ । नगरप्रमुख चिन्तित छन् । उनले नेतृत्व गर्नु पर्ने महानगरका सुधार र विकासका योजना धरै छन् त्यसमध्ये फोहोर व्यवस्थापन एक हो सम्पूर्ण होइन । फोहोर व्यवस्थापन सम्पूर्ण जिम्मेवारी बालेन्द्रको मात्र हुँदै होइन महानगरमा त नेपालका ७७ जिल्ला र अझ ठुलै सङ्ख्याका विदेशी नागरिक समेत वसोवास गर्छन् । महानगरका सम्पूर्ण बासिन्दा फोहोरका प्रथम  स्रोत हुन् । यो भन्दा अगाडी पनि त दलका विजयी जनप्रतिनिधि थिए । किन यो समस्या समाधान हुन सकेन र अहिले स्वतन्त्र विजयी मेयर कुर्चीमा नबस्दै काठमाण्डौका बाटा र गल्लीका फागुन देखिएका फोहोर एकै दिनमा उठ्नु पर्ने । विरोधमा पनि तुक र तर्क हुनु पर्छ ।

मेयरको चुनावी परिणाम आउँदै गर्दा नव निर्वाचित स्वतन्त्र उम्मेदवार वालेनका पक्ष विपक्षमा चलेको बहसले उनका रणनीति र योजनामा सहयोग गर्नुको साटो विरोध मात्र गर्नेहरूको भिडले तर्क वितर्क गरी अवरोध सृजना गरेका छन् ।

काठमाण्डौँको फोहोर नयाँ मेयरले गराएको होइन र उनको मात्र टाउको दुखाई होइन । यो त बहुआयामिक र अन्तर सम्बन्धित विषय हो । ७५३ पालिका प्रत्येकलाई फोहोर व्यवस्थापन पहिलो चुनौती हो । पालिकाहरू वरपर बस्ती विकास हुँदै गएका छन् । जनघनत्व बढेर गएको छ । लेन्डफिल्ड साइट र मानव बस्तीको दुरी सागुरिदै गएको छ । यसको अर्थ जग्गाको उपलब्धता दुर्लभ छ र बस्ती विस्तारित हुँदै छन् । मान्छेमा आफूले उत्सर्जन गरेको फोहर आफै व्यवस्थापन गर्नु पर्छ भन्ने नभई नगरपालिकाले गर्छ भन्ने भ्रम हट्न नसकेका कारण फोहोर पालिकाको टाउको दुखाई बन्दै गयो । सबै भन्दा ठुलो हाम्रो कमजोरी भनेको घरघर, समुदाय स्तरमा र टोल टोलमा फोहोर व्यवस्थापन गर्न नसक्नु नै हो । यसमा प्रत्येक व्यक्ती संवेदनशील नहुँदाको परिणाम हो । फोहोर घर बाहिर र बाटामा फाल्ने असभ्य संस्कृति हामोले बोकेर हिँडेका छौ । फलफूल पसल गर्छौ फोहोर बाटामा थुप्र्याउँछौ । पसलको भाग आधा बाटामा हुन्छ । लुकाउनका लागि फोहोरका पोका गल्लीमा फाल्छौँ ।

काठमाण्डौँको फोहोरलाईमात्र देखाएर मेयर माथि राजनीति गर्नु अन्याय हुनेछ । उनी त नेतृत्व दिन आएका हुन्, महानगरलाई भिजन दिन आएका हुन्, उनको नीति कार्यान्वयन सहयोगी संयन्त्र कर्मचारीसंयन्त्र अद्यावधिक छँदैछ । विषयगत विज्ञता त्यसै भित्र छ ।

नेपाल सरकारको सह-सचिवले महानगरको व्यवस्थापकीय र प्रशासकीय नेतृत्व गर्छन् । आज भन्दा २० औँ वर्ष अघिदेखि बन्चरे डाँडामा काठमाडौँ र ललितपुर सहित १६ वटा नगरपालिकाको फोहोर जाँदो रहेछ । सबैले काठमाडौँ महानगरपालिकाको फोहोर मात्र जाने र सिसडोलबासीका माग काठमाण्डौँले मात्र पुरा गर्नुपर्ने भन्ने विषय पनि न्याय सङ्गत र तर्कपूर्ण देखिँदैन । र, यसमा १६ वटै नगरपालिकाको समान दायित्व हुन्छ । यस विषयमा सबै स्पष्ट हुनु जरुरी छ । उपत्यकाका सबै नगरपालिकाको एकीकृत प्रयास भएमा फोहोरको दीर्घकालीन समाधान सम्भव छ ।

 सिसडोल डम्पिङसाइटमा २ वटा इन्सिनेरेटर सेल राखेर बञ्चरेडाँडामा डम्पिङसाइट निर्माणका लागि सरकारले १ अर्ब ५६ करोड लगानी गरे पनि उक्त साइट पूर्णरुपमा निर्माण भई सञ्चालनमा आएको छैन । त्यसको अनुगमन महानगर र भौतिक पूर्वाधार मन्त्रालयबाट हुन सकेको देखिँदैन । यसलाई जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्नु पर्छ । ठाउँ ठाउँमा इन्सिनेरेटर प्रयोग गरेर फोहर जलाउने गरेमा फोहरको मात्रालाई घटाउन सकिन्छ । स्रोतमा नै कुहिने र नकुहिने गरी फोहरलाई छुटाउन सकिन्छ । कुहिने र नकुहिने फोहर एउटै गाडीमा हालेर लैजाने भए नागरिकले किन फोहर छुट्टाएर राख्छन् ? फोहर लिनका लागि दुई प्रकारका गाडीको व्यवस्था गर्ने । सातामा दुई दिन फोहर लिन आउँदा फरक फरक दिन कुहिने र नकुहिने गाडी पठाउने । टोल टोलमा कन्टेनर राखिएको अवस्थामा पनि दुई/दुई वटा कन्टेनर राख्ने । स्रोतमा नै फोहरलाई छुटाउन सकियो भने कुहिनेलाई जैविक मलका रूपमा प्रयोग गर्न सकिन्छ । औषधिजन्य फोहरलाई  डव्लू एच ओ को मापदण्ड अनुरूप सुरक्षित व्यवस्थापन गर्नु पर्ने हुन्छ । सिसडोलमा जैविक मल बनाउने कारखाना स्थापना गर्ने योजना ल्याउनु पर्छ ।  मललाई उर्वरा खेतीयोग्य जमिन रहेको भक्तपुर नुवाकोट काभ्रेपलान्चोक, धादिङलगायत जिल्लामा बिक्री गर्न सकिन्छ ।

फोहोर व्यवस्थापनका असल अभ्यास:

छिमेकी  देश भारत तथा चीनमा फोर आरको नीति अन्तर्गत रिफियूज, रिडियूस, रिसाईकन र रियूज गर्ने गरेका छन् । विशाल देश भारतका विभिन्न सहरहरूमध्ये सुरत गुजरातलाई सफा सहरका रूपमा चिनिन्छ । जहाँ समुदाय र टोल स्तरमा फोहोर व्यवस्थापन गर्नेलाई महानगरले नगद अनुदान दिने गर्दछ । कम्पोस्ट मल बनाउन १५/२० वटा प्लान्ट स्थापना गरेको छ । फोहोर सङ्कलन गर्न सार्वजनिक निजी साझेदारीको मोडल अपनाइएको पाइन्छ । प्लाष्टिक डिस्पोज गर्ने छुट्टै इन्सिनेरेटर प्रयोगमा रहेको छ । यी सबै काम प्रभावकारीताका साथ सम्पन्न गर्न महानगरको ५० प्रतिशत, केन्द्र सरकार र प्रदेश सरकारको २५/२५ प्रतिशत शेयरको प्रतिशत तोकी प्राधिकरण गठन गरी कडाइका साथ फोहोर व्यवस्थापन गरी नमुना सफा सहर बनेको छ । २० वर्षमा गुजरातवासीहरूले सफा सहरको अवधारणालाई आदत या संस्कृति बनाइसकेका छन् ।४ वर्षे बच्चाले पनि बाबुको गाडीमा खाएको केराको बोक्रो ब्यागमा राख्न बाबुलाई आग्रह गर्ने गर्छन् भन्छन् सुरतका नागरिक ।

यस्तैगरी स्विडेनले जिरो वेस्ट, वेस्ट टु ईनर्जी आयोजना अन्तर्गत छिमेकीसँग प्रति टन ४३ डलरमा फोहोर किन्ने र ऊर्जा उत्पादन गर्ने गर्दछ । फोहोर रिसाइकल गरेर वार्षिक १० करोड डलर कमाउँछ भनिन्छ । त्यहाँ एक प्रतिशत फोहर मात्र ल्याण्डफिल्ड साइटमा जान्छ भनिन्छ ।

बङ्गलादेशमा युनिभर्सिटी र एसिया युरोप फाउन्डेसनका लागि सिराजुल स्लामले गरेको अर्वान वेस्ट म्यानेजमेन्ट इन बङ्गलादेश शीर्षकको अनुसन्धान पेपरमा भनिएको छ वंगलादेशमा ढाका सहरको ५० प्रतिशत मात्र फोहोर उठ्छ भने ५० प्रतिशत फोहोर त संकलन नै हुँदैन । त्यहाँ महानगरको सङ्कलन क्षमता ७६ प्रतिशत मात्र रहेको छ । सन् २०२१मा ढाकामा प्रतिदिन ६५०० मे ट फोहोर उत्सर्जन भएकोमा २०३२ मा त्यो ८५०० पुग्ने प्रक्षेपण गरेको छ । त्याहाँ पाइलट प्रोजेक्टका रुपमाः विल्ड जिरो वेस्ट कम्युनिटी फर ईन्डस्ट्रियल पोलुसन फ्री इन्भारोमेन्ट नारा कार्यान्वयनमा रहेको छ । जसमा; हेजाडर्स र नन हेजार्डस फोहोर कार्यविधि बनाइ विसर्जन गर्नु पर्ने, वडा तहबाट फोहोर सङ्कलन गर्ने, वेस्टबाट कम्पोस्ट मल बनाउने, नागरिकमा मनोवैज्ञानिक परिवर्तन ल्याउनु पर्ने, भविष्यमा जग्गाको अभाव हुने, जनसङ्ख्या बृद्धि हुँदा ल्यान्ड फिल्ड साइट र मानव बस्तीको दुरी खुम्चिने प्रक्षेपण अध्ययनले देखाएको छ। (शोधकर्ताः सिराजुल स्लाम, एसिया युरोप फाउन्डेसन २०२१)

वालेनले काठमाडौँको मौलिक विशेषतामा आधारित विकास र सरसफाइलाई प्राथमिकतामा राखेको पाइन्छ । काठमाडौँको ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, सांस्कृतिक विषयलाई केन्द्रमा राखेर काठमाडौँको मौलिक विकासलाई जोड दिइएको छ । जुन विषय काठमाडौँका जनताको मन जित्ने आधार बन्यो।

वि.स. २०६६श्रावणमा नेपाल सरकारका दक्ष नै मानिने एक सह–सचिव काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा जाँदा भन्ने गरेको फोहोरको दिगो र स्थायी समाधान गर्छु तर  उनीहरूको जागिर ३ देखि ६ महिना भन्दा अगाडी जान सकेन । यो सत्य साबित भयो कि उनीहरूले फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधान दिन सकेनन् । २०६५ फागुन ४ देखि नउठेको फोहोर साउन २० पछि उठेको थियो । त्यस बेला महानगरपालिकाले सिसडोल बासीका माग शिक्षा, स्वास्थ्य, रोजगारी, सडक र सरसफाइ तथा  जग्गाको क्षतिपूर्ति जस्ता विषयमा गरेको सम्झौता ५३ औँ पटकको थियो । तत् पश्चात् बर्सेनि यही रितका साथ आज सम्म आइपुग्दा बालेन र सुनिताले सिसडोल वासी सँग गरेको वार्ता १७६ औँ रहेछ।

बालेन साहको सफलताले राजनीतिक दलहरूले जवर्जस्त मतदातामा लादेको खाए खा नखाए घिचको दलीय चिन्ह भन्दा पर गएर सार्वभौम स्वतन्त्रताको निस्फिक्री उपयोग गरेका छन् । अव स्वतन्त्रको परीक्षाको घडी सुरु भएको छ ।

बालेनले सांस्कृतिक सहर समृद्ध महानगरको दीर्घकालीन सोच राखी आर्थिक वर्ष २०७९।८० बजेट प्रस्तुत गरेका छन् । उनले फोहोरका सन्दर्भमा फोहोरको वर्गीकरण जिरो वेस्ट वेस्ट टु इनर्जि नीति अगाडी सारेका छन् तर उनले पनि १६ वटै नगरपालिका सँग वजेटरी समन्वय गरी एकीकृत धारणा र योजना घोषणा गर्न र बजेट छुट्टाउन सकेनन् यसबाट लाग्छ बालेनको नेतृत्वले पनि पूर्ण आयु पाउला र ?

फोहोर व्यवस्थापनका लागि गरिनु पर्ने कार्यहरुमाः

फोहोरको दीर्घकालीन समाधानका लागि विश्वविद्यालय/अनुसन्धान केन्द्रबाट अध्ययन/अनुसन्धान गराउने, केन्द्र सरकार, प्रदेश र १६ स्थानीय तह र फोहोर विसर्जन गरिने स्थानीय तह समेतलाई शेयर लगानी गराई एक स्वायत्त प्राधिकरण गठन गरी कम्तीमा ५० वर्षको योजना बनाई दीर्घकालीन समाधान खोज्ने । संलग्न जनशक्तिको सेवा सुविधा र सुरक्षाको व्यवस्था गर्ने, घर समुदाय र टोलमा फोहोर व्यवस्थापन गर्नेलाई नगद अनुदान दिने, वडा तहमा फोहोर व्यवस्थापनमा प्रोत्साहन गर्ने, सामूहिक सरसफाइ अभियानलाई व्यापक बनाउने, सिसडोल वासीका जायज माग संशोधन गर्ने, फोर आरको नीतिअबलम्वन गर्ने, जिरो वेस्ट नीति अवलम्बन गर्ने, वेस्ट टु ईनर्जि, नयाँ प्रविधिको अन्वेषण र आविष्कारलाई प्रोत्साहन गर्ने, ढल रहित स्यानीटेसन प्रविधिको विकास गर्ने, टेलिफोन विद्युतका तार जमिनमुनि लाने, अस्पताल जन्य फोहोरलाई मापदण्ड अनुरूप विसर्जन गर्ने, इन्जायममा आधारित छिटो फोहर गलाउने प्रविधि भित्र्याउने, जात्रा, पर्व तथा मेलाहरू जस्तै शिवरात्रि, सतविज छर्ने, तिज, भोटो जात्रा जस्ता सयौँको सङ्ख्याका पर्वमा उत्सर्जन हुने फोहोर इन्सिनेरेटर राखेर त्यही नष्ट गर्ने । नदीहरु र जलाशयहरूको विशेष संरक्षण र सफाइ गर्ने । ढलका पाइप र खानेपानीको पाइपको सुरक्षित व्यवस्थापन गर्ने । यी कार्यका लागि सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गर्ने । यसका लागि उपत्यका सबै स्थानीय तह र केन्द्र सरकारको एकीकृत प्रयासमा क्लिन काठमाडौँ मास्टर प्लान कार्यान्वयनमा ल्याउनु आवश्यक छ ।

Tags :
प्रतिक्रिया दिनुहोस