काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तको मागसहित सत्ता गठबन्धन दल निकटका प्रमुख तीन सङ्गठनले आन्दोलन घोषणा गरेका छन् ।
नेविसंघ अध्यक्ष डुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै ५ दिनको सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
एमालेको अर्थ तथा योजना विभागको सदस्यको रूपमा रहेर अधिकारीले मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको दाबी गर्दै ती सङ्गठनले बर्खास्तको माग गरेका हुन् ।
आन्दोलनका कार्यक्रमअन्तर्गत प्रधानमन्त्री र सभामुखलाई ज्ञापन पत्र बुझाउने, राष्ट्र बैङ्कका कार्यालयमा कालो ब्यानर राख्ने, प्रज्ञा भवनमा कार्टुन प्रदर्शन गर्ने, देशभरका क्याम्पसमा विरोध गर्ने र सदनबाट गभर्नर बर्खास्तको मागका लागि सांसदलाई दबाब दिनेसम्मका छन् ।
