काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आए पनि नेपाल आयल निगमले यहाँ नघटाउने भएको छ ।
निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत राखिएको जनाएको छ ।
निगमलाई हिजो (शनिबार) मात्रै भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा तथा डिजेल १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको थियो ।
अझै पनि पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ १९ पैसा र डिजेलमा २१ रुपैयाँ ९२ पैसा घाटा रहेकाले मूल्य नघटाइएको निगमले जनाएको छ ।
समग्रमा १५ दिनको घाटा अब २ अर्ब १६ करोडमा झर्ने निगमले जनाएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ, डिजेल तथा मट्टितेलको १७२ रुपैयाँ छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा झरेको छ । एक महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि थियो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई केही राहत मिलेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै घट्ने अमेरिकी बहुराष्ट्रिय सिटी ग्रुपको प्रक्षेपण छ ।
सो ग्रुपले कच्चा तेलको मूल्य २०२२ को अन्त्यसम्म घटेर ६५ डलरसम्म झर्न सक्ने अनुमान गरेको छ ।
विज्ञप्ति
