विचरा छोरी पो जन्मेछ ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विचरा छोरी पो जन्मेछ !


३२ असार २०७९, शनिबार


असोज महिना । चारै तिर दशैको रौनक थियो । मधेसका फाँटमा धानका बाला लहलह झुलेका थिए । समय आफ्नै गतिमा बगिरहेको थियो । म गर्भवती थिए । बच्चा जन्मिने दिन नजिकै थियो । नियमित अफिस आउने जाने चलिरहेको थियो । कार्यालयमा साथीहरू घिउ खाने कहिले भनेर जिस्काउँथे ।

स्थानीय तह सेवाग्राहीसँग पनि अव गर्भवती भएको कुरा गोप्य थिएन । सबैले सुस्वास्थ्यको कामना गर्नुहुन्थ्यो । कार्यालय पनि पारिवारिक छ । सबै साथीहरूमा पदीय हैसियत अनुसार समानता छ । सबै साथीहरूमा मेलमिलाप छ । तिमिलाई थकाइलागेहोला हामी काममा सहयोग गर्छौ तिमी आराम गर भन्ने वातावरण छ ।

समय आफ्नै गतिमा चलिरहेको थियो । एक दिन कार्यालयको खाजा समयमा सबै साथीहरू खाजा खान गएको बेला तिमीले यस्तो वेला आराम गर्नु पर्छ आराम गर म पुर्‍याइदिन्छु भनेर साथीहरूले घर सम्म पुर्‍याइदिनुभयो । म पनि बच्चा जन्मिने बेला नजिकिएकोले अप्ठ्यारै भएको थियो खुसी हुँदै घरमा गएर आराम गरिरहेकी थिए । साँझ कार्यालय समय पश्चात हाम्रो कार्यालयमा काम गर्ने सबै केटी साथीहरू मेरो डेरामा आउनुभयो । अहिले चलिरहेको ट्रेन्ड अनुसार बेबी सावर मनाउन साथीहरूले नै अचम्म पार्ने योजना बनाउनु भएको रहेछ ।

मेरो दाेस्रो बच्चा भएकोले लाज लाग्ने कुरा पनि भएन । भन्नेले जे सुकै भनुन बच्चा जन्मिने हुँदा खुसी मनाउनु राम्रो नै लाग्छ । सबै साथीहरूसँग केक काटियो । खुसी मनाइयो । साथीहरूले पनि मेरो पहिला छोरी भएकोले छोरा होस भन्ने शुभकामना दिनुभयो । केही साथीहरूले भने स्वस्थ बच्चा जन्मियोस् भन्ने कामना गर्नु भयो । साथीहरूले सामाजिक सन्जालमा फोटो राख्नु भयो । अब सबै तिर गर्भवती भएको खबर फैलियो । सबैले शुभकामना पोस्टाउनु भयो । जान्ने बुझ्ने सबै कुरामा परिपक्व भएकाहरूले समेत छोरो नै पाउनु पर्ने जस्ता शुभकामना पोस्टाउनु भयो ।

गर्भवती हुनु । बच्चा जन्माउनु सामान्य प्रक्रिया खुसीको समय हो । परिवारमा सबैले गर्भवतीलाई माया ममता गर्ने । खानपानमा ख्याल गर्ने । काममा सघाउने गर्नु पर्दछ । गर्भवतीले पनि शरीरलाई भार नपर्ने गरी घरायसी सामान्य कामकाज र नियमित दैनिक कार्यालयका कामकाज गर्न कुनै बाधा हुँदैन ।

कार्यालयमा पनि महिला कर्मचारी गर्भवती हुँदा त्यसै अनुकूल: हुनु आवश्यक छ ।तर हाम्रा कार्यकक्ष कत्तिको महिला मैत्री छन् ? त्यो त भोग्नेलाई थाहा हुन्छ ।

हाम्रो दोस्रो सन्तान जन्मिँदै थियो । हामी दुवै खुसी थियौँ । दुई सन्तान ईश्वरका वरदान । हामीलाई जे जन्मिए पनि खुसी नै थियो । बच्चा पेटमा हुँदा गरिएको भिडियो एक्सरेको आधारमा लगभग छोरी नै जन्मिन्छ भन्नेमा हामी निश्चित थियौ र तयार पनि । यद्यपि यो कुरा हामी दुई जनालाई मात्र थाहा थियो ।

समय आयो । असोज १७ गते बच्चा जन्मिने अनुमानित मिति थियो । तर १४ गते जाँच गराउँदा गर्भाशयमा पानी कम भएकोले त्यसै दिन भर्ना हुनु पर्‍यो । डाक्टरको सल्लाह अनुसार नै हामी भीम अस्पताल भैरहवामा साँझ ९ बजे भर्ना भयो । बेथा लगाउने औषधी खाए पछि १५ गते बिहान साढे छ बजे प्राकृतिक तवरबाट नै छोरी जन्मिइन ।

छोरी र मेरो स्वास्थ्य अवस्था सामान्य भएकोले हामी सोही दिन नै बेथरीको डेरामा फर्कियौ । छोरी जन्मिएकोमा खुसी हुँदै श्रीमानले सामाजिक सञ्जालमा तस्बिर पोस्टाउनु भयो । सबैले शुभकामना दिनु भयो । पहिला छोरी जन्मिदा सबैले लक्ष्मी आइन भन्दै फोन गर्ने आफन्त इष्टमित्रहरूले यसपालि फोन नै गर्नु भएन । सामान्य सामाजिक सञ्जालमा रेडिमेट बधाई मात्र भन्नुभयो ।

केही नजिकका आफन्तहरुले फोन गर्दा “पिर नगर”, “बिचरा छोरी पो जन्मेछ”, ‘छोरा दिन्छौ की भनेको’ , ‘अपुताली जाने भो’ , ‘पढेलेखेका भएर पनि फेरी छोरी पाउने’ जस्ता निकृष्ट शब्द चयन गरेर शुभकामना दिनु भो । हामी खुसी नै थियौँ । हाम्री ठुली छोरी पनि बहिनी पाएकोमा निकै खुसी थिइन । तर हाम्रो नजिकका इष्टमित्र खुसी हुन सक्नु भएन ।

हाम्रो स्वास्थ्यमा समस्या आएन । राम्रोसँग नामकरण संस्कार गर्‍यौ । अरू नियमित चल्यो । छोरी पनि बामे सर्ने भइसकिन ।

तर, हाम्रो समाज हाम्रो परिवेश के छोरा पाउनै पर्छ त ? छोरा छोरी बराबरी भनेर कहिले स्विकार्ने ? के छोरी जन्मिँदैमा अपुताली जान्छ त ? के पढेलेखेका ले छोरी पाउनु भएन ? के छोरी पाउनेहरू बिचरा नै हुन त ? प्रश्न यहाँनेर छ । यो मेरो मात्र नभएर अहिलेको समाजको प्रतिविम्ब हो ।

यस्तो खालको सोचाइ समाजमा कहिले सम्म रहने हो । यस्तै सोचाइ र व्यवहारले गर्दा कति धेरै छोरीहरू संसारको अनुहार नै हेर्न नपाइ गर्भबाट नै विलीन हुनु परेको छ । समान अवसर र समता मूलक न्याय पाएमा छोरा र छोरीमा केही भिन्नता छैन । शारीरिक संरचनामा फरक छ तर अरू कुनै कुरामा छोरा र छोरीमा भिन्नता छैन । छोरीहरूले पनि सबै किसिमका काम गर्ने हैसियत राख्दछन् ।

जब सम्म हामीले हाम्रो छोराको बिहे गर्दा छोरी अरूका खोज्छौ । जसरी छोरी विवाह गरेपछि जुवाइँको घरमा जान्छन् र उतैको मात्र जिम्मेवारी बहन गर्नु पर्छ । जुवाइँले पनि श्रीमतीको बाबुआमा प्रति आफ्नो कर्तव्य सम्झने र छोरीले पनि श्रीमानका बाबुआमा प्रति आफ्नो कर्तव्य सम्झेर व्यवहार गरेमा छोरा छोरीमा भिन्न व्यवहार गर्नु पर्दैन ।

छोरा नपाउँदैमा अपुताली जाँदैन । छोरीले पनि बंस चलाएकै छन् । छोरी विना छोराहरू एक्लै अपुताली चलाएर त हेर ?? कसरी चल्दो रहेछ ।

छोरी पाउनेहरू कसरी बिचरा भए ?? छोरीलाई पनि समान वातावरण समान अवसर समान परिवेश दिएर त हेरौँ । कामकाजीहरूका बच्चा हेरिदिएर सहजता निर्माण गरौँ । हाम्रा कार्यकक्षहरू महिला मैत्री होउन् । हरेक कार्यालयमा शिशु स्याहार कक्ष होस । कार्यालयले नै त्यसको व्यवस्था गरोस् । महिला कर्मचारीहरूलाई पनि समान जिम्मेवारी र अवसर प्रदान होस ।

पढेलेखेकाहरूले छोरी पाउन भएन त ? अवश्य समाज परिवर्तनका बाहक भनेका आफ्नो जिम्मेवारी र कर्तव्य उठाउन सक्ने पढेलेखेका र जानेबुझेकाहरुले नै हो । त्यसैले म दुइटा सन्तान पाउने हिम्मत गरेको । छोरी पाउने हिम्मत गरेको । समाजमा महिला अनुकूल वातावरण सकेसम्म निर्माण गरिदिने हो । मेरा र म जस्ताका दुई छोरीहरू समाज परिवर्तनका बाहक हुन सकुन् । बाँकी समयले बताउनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस