२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रारा : यात्रा अनुभूती

अ+ अ-

२०७८ सालको बडादसैँ हाम्रो टीका नभएको कारण त्यति उत्साहजनक थिएन । त्यसो त बाल्यकाल पछिका चाडपर्वहरू मेरो अनुभूतिमा कता कता खल्लो अनि विना रौनकका लाग्ने गरेका छन् । बाल्यकालमा जस्तो कुनै पनि चाडपर्वले उस्तो खुसी र उमङ्ग लिएर आउँदैनन्। कता कता अलिनो लाग्छन् चाडपर्वहरू । एक खालको शून्यता र खालीपन महसुस हुन्छ । पर्वहरू आउनकै लागि आएजसरी आउँछन्,बच्चा वेलाका  यादहरू दिलाएर जान्छन् ।

दसैँको छुट्टीलाई कसरी भरपुर उपयोग गरौँ भनेर अवसरको खोजी गर्दै गर्दा रारा जाने निधो भयो । मनमा अनेक साहस र उमङ्ग बोकेर  बिना कुनै लामो योजना हामी झटपट राराको लागि तयार भयौँ ।कमसेकम  दश दिनको लागि पुग्ने लत्ता कपडा र अड्को परेको वेलाको लागि केही खानेकुराहरू प्याक गरी  सवारी चालक सहित सात जना कर्णालीको लागि प्रस्थान गरियो । काठमाण्डौबाट छुटेको पहिलो दिन हामी  बुटवल पुग्यौँ । आजको  रात  बुटवलमा बिताउने योजना अनुरूप बसाई त्यही भयो ।

बिहान सबेरै उठेर फ्रेस भइवरी हाम्रो यात्रा निरन्तर अगाडि बढ्यो । दाङको लमहीमा  बिहानको खाना खायौँ । बाँके राष्ट्रिय निकुञ्जको घना जङ्गलभित्रको बाटो  छिचोल्दै सुर्खेत पुग्ने र आज राती बास बस्न कालिकोटको  सदरमुकाम मान्म सम्म पुग्न सकिने अनुमान लगाउँदै थियौँ । सुर्खेतसम्मको बाटोभरी हामीले अनेक किसिमका रमाइला जोकहरू गर्‍यौँ । सबैले आ-आफ्ना प्रस्तुतिहरू दिँदै कोही नेता बनेर भाषण गर्नु पर्ने, कोही कमेडी गर्नु पर्ने, कोही वैज्ञानिक बन्नु पर्ने र कोही धार्मिक प्रवचन दिनुपर्ने गरी भूमिका बाँडेर उक्त भूमिकालाई निभाइसकेपछि समीक्षा समेत गर्नुपर्ने एउटा कार्यक्रम सेट गरेर गाडीभित्रै आ-आफ्नो प्रस्तुति प्रस्तुत गरियो । असाध्यै रोचक भएको त्यो कार्यक्रमले हामीलाई बाटो काटेको पत्तै भएन । एक छिनमै सुर्खेत पुगिएछ ।

यात्रामा सवार हामी सबैको लागि कर्णाली विल्कुलै नयाँ गन्तव्य थियो । विशेष गरी मुगुको रारा हामीले सम्झँदै रोमाञ्चित हुँदै अगाडी बढ्दै थियौँ भने त्यहाँ सम्मको यात्राको क्रममा अवलोकन गर्न सकिने कालिकोटको सदरमुकाम मान्म , जुम्ला जिल्लाको सिञ्जा भ्याली, खलङ्गा बजार,मुगुको सदरमुकाम गमगढी लगायतका ठाउँहरू पनि हाम्रो लागि  थप आकर्षकका विषय बन्ने वाला  थिए ।

 नदी किनार र पहाडका साँगुरा सडकहरू,अत्यन्तै कष्टकर जनजीवन, खाद्यान्न अभाव ,गरिबी , न्यून साक्षरता ,बेरोजगारी, मानव विकास सुचकांकमा सबैभन्दा कमजोर रहेको प्रदेश भनेर बुझेका र सुनेका हामीहरूलाई कालिकोटको मान्ममा पुगिसक्दा मात्रै पनि त्यहाँको भौगोलिक बनावट, साँघुरो बाटो र जनजीवन  देखेरै ती सबै कुरा वास्तविकताको नजिक रहेछन् भन्ने लागिसकेको थियो ।

र पनि स्वर्गकी अप्सरालाई यही धर्तीमा भेटेर स्वर्गीय आनन्द महसुस गर्न लालायित हुँदै अगाडि बढेको हाम्रो यो यात्रामा जतिसुकै अप्ठ्याराहरू, चुनौतीहरू आइपरे पनि सामना गर्ने हामी सबैको बाचा थियो नै । सोही अनुरूप हामी आफूलाई  सकारात्मक बनाउँदै यात्रालाई निरन्तरता दिन्छौँ ।

यात्रामा निकै कहाली लाग्दा भिरपाखाहरु छिचोल्दै गर्दा फेरि सकुशल घरसम्म फर्किन सकिने हो कि होइन भन्ने आशङ्काहरू मनमा घरीघरी उठिरहन्थे । हामी यो भन्दा पनि अझै खराब सिचुएसनको परिकल्पना गर्दै चुनौती सामना गर्न तत्पर बन्दै गयौँ ।

कर्णाली भन्ने बित्तिकै जनजिब्रोमा झुन्डिएको प्रदेश जहाँ एक पटक पुग्ने सपना प्राय: सबैको हुन्छ । मनमस्तिष्कको केन्द्रमा मुगु जिल्लामा अवस्थित “रारा ताल“ लाई राख्दै हामी  त्यही कल्पनालाई साकार पार्न अनवरत अगाडि बढि नै रह्यौं ।

आँखा झिम्काउँदा पनि कतै केही छुटिहाल्ने हो की भनी चनाखो हुनु हाम्रो आदत बनिसकेको थियो । बाटो वरिपरि आँखाले भ्याए जति दृश्यहरू कतै क्यामरामा र त्यो भन्दा बढी आफ्ना आँखामा कैद गर्दै मस्तिष्कको कहिल्यै डिलिट नहुने फोल्डरमा स्टोर गर्दै थियौँ ।

सुर्खेतबाट उकालो चढेपछि गुराँसे भन्ने ठाउँ आउदो रहेछ । त्यहाँबाट तल हेर्दा अत्यन्तै मनमोहक, रमणीय  सुर्खेत बजार छर्लङ्गै देखिने । आकाश नै छोएको जस्तो अनुभूति भयो । हामीलाई एक्कासि फरक प्रकृतिको नयाँ ठाउँमा पुगेको भान भयो । हामीले बिच बिचमा भेटिने मानिसलाई अव कालिकोट पुग्न कति समय लाग्छ भनेर सोध्न थाल्यौ । जतिखेर सोध्दा पनि उहाँहरूले दिएको समय र हाम्रो अनुमानहरू पटक्कै मेल खाएन। हामी सधैँ ढिला नै हुन्थ्यौ उनीहरूले दिएको समयभन्दा । हामीलाई पछिल्ला दिनमा ठाउँ सोध्ने र जानकारी लिन खोज्ने  कुरा एउटा जोक जस्तो भयो ।

साँझ छिप्पिँदै थियो । राकम कर्णालीको  किनारै किनार जाँदाजाँदै एउटा झिलिमिली बत्ती बलेको ठाउँ देखिन थाल्छ। सायद त्यही नै कालिकोट हुनुपर्छ, अब त हामी नजिकै आइपुगेछौँ भनेर खुसी हुन्छौँ। तर एकैछिनमा त्यो झिलिमिली देखिएको शहर आँखाबाट कता-कता अलप हुन्छ । अनौठो त के भयो भने हामीले देखेको त्यो बत्ती बलेको ठाउँ कालिकोटको सदर मुकाम मान्म नै रहेछ तर त्यहाँ पुग्दा रातको झन्डै दश बज्यो । देख्दा नजिक जस्तो तर पनि  बाटो अप्ठ्यारो, त्यसमाथि  बिग्रेको, उकालो र साँगुरो रहेछ ।  बल्ल तल्ल कालिकोटको सदरमुकाम  मान्म पुगियो ।

काठमाडौँ छाडेको दोस्रो रात कालिकोटमा बितायौँ । बिहान उठेर एकैछिन मान्म बजार घुम्न निस्क्यौँ । दुई तर्फबाट नदीले घेरेको बिचको पहाडी थुम्कोमा अवस्थित मान्म बजार पहिलो पटक पुग्नेहरूको लागि अचम्मको लाग्ने रहेछ । बजारको अलि माथि सेल्फि डाँडा रहेछ त्यहाँ  बसेर एक छिन यताउता नियाल्दै केही चिसो हावा खाँदै सेल्फि पनि खिच्यौँ ।पारिपट्टि हेर्दा थुन्से घोप्टो पारेर राखेको जस्तो विशाल पहाड । वारी पट्टि हेर्‍यो त्यस्तै अत्यास लाग्दो भौगोलिक अवस्थिति । हामी पहाडमै जन्मेर हुर्केकाहरूलाई समेत अलि फरकै लाग्ने त्यो भूगोल । 

हामी तेस्रो दिन कालिकोटबाट मुगुतर्फ लाग्छौँ। हिमा नदीको किनारै किनार जब सिंन्जा भ्याली आउँछ, दुई साइडमा चिटिक्क मिलेको मार्सी धान फल्ने सम्म परेको फाँट र बिच भागमा बडा शान्त,सौम्यर शालीन बगेको हिमा नदी, अलिक माथिपट्टि मिलेर बसेका सुन्दर डाँडाहरू यी सबै दृश्यहरू आँखा अगाडि देखिदा लाग्थ्यो हामी कुनै अलौकिक संसारमा छौँ । जति हेरे पनि आँखाहरु अघाएका थिएनन् । क्यामेराहरूमा सके जति तस्बिर कैद गर्दै हामी हाम्रो गन्तव्य रारा तर्फ अगाडि बढी नै रह्यौँ ।

यात्रा गर्दै जाँदा मनमा अनेक तरङ्गहरू उठिरहन्थे । लाग्थ्यो,कर्णाली क्षेत्रको एक मात्र लक्ष्य भनेको पूर्वाधार विकास र चेतनाको स्तरमा परिवर्तन रहेछ । यहाँका अपार सम्भावनाहरूले अवसर खोजिरहेका छन् । लामो बलिदानीबाट प्राप्त सङ्घीयता र सोही व्यवस्था मुताबिक बनेका स्थानीय सरकार र संरचनाहरूबाट  परिवर्तन आँउछकि भन्ने झिनो आसामा  टुलुटुलु बाटो कुरिरहेको छ कर्णालीले।

कर्णाली मुलुक विकासको बाहक बन्न सक्ने सम्भावना रहेको आभास भयो । यहाँको जुम्ला कर्णाली, हिमा नदी, हुम्ला कर्णाली लगायतका नदिहरुवाट अनवरत बगिरहने कन्चन पानीको बहावले बृहत् आकारका जलविद्युत आयोजनाको आह्वान गरिरहेको, मुलुकको समृद्धिको लागि प्रचुर स्रोत रहेको आभास भयो । अपार जल भण्डार,यहाँको भूगोल,यहाँका उत्पादनहरू जस्तो स्याउ, सिमी, ओखर, मार्सी धान,यार्चागुम्बा लगायतका असङ्ख्य जडीबुटीहरू, भाषा संस्कृति ,भेषभुषाहरू केवल कर्णालीको मात्र नभएर समग्र मुलुकको  विकास र समृद्धिको  दिगो स्रोत बन्न सक्छन्।

रारा भएर मात्रै होइन प्राचिन खस भाषाको उत्पत्तीस्थल र सिञ्जा उपत्यकाका कारणले कर्णालीसँग हाम्रो पौराणिक मानव सभ्यता र संस्कृति जोडिएको पाइन्छ ।विकासका थुप्रै अवसरहरू भएर पनि कर्णाली उचित लगानी र स्रोतहरूको सही व्यवस्थापनको अभावमा पछाडि परिरहेको छ । तसर्थ कर्णालीमा आएर दुःखका विरहका भाका हाल्ने होइन समृद्धि र विकासका गाथाहरू सिर्जना गर्नु आजको आवश्यकता हो ।

मनमा यस्तै अनेकौँ विचारहरू त्यो यात्राको क्रममा जो कसैलाई पनि आउँछन् होला,  मलाई  पनि त्यस्तै भयो। मुलुकमा सङ्घीयता कार्यान्वयन भइसक्दा पनि भ्यूटावर र स्वागतद्वार वाहेक सामान्य जनताले महसुस हुने गरी  जनजीवनमा खास सुधार भएको देख्न नपाउँदा कता कता मनमा दुख लागिरहेको थियो । व्यवस्था परिवर्तन भएर मात्र केही नहुने रहेछ । ती ग्रास रुटका साधारण नागरिकको दैनिकी जस्ताको त्यस्तै छ । कम्तिमा ती दूर दराजका बस्तीहरूमा  पुग्नलाई एक मात्र विकल्पको रूपमा रहेको सडकको सहज पहुँच मात्रै भइदिए पनि जनतालाई  ठुलो राहत मिल्ने थियो । सङ्घीयताको उपलब्धि प्राप्त भयो भन्ठान्थे होला त्यहाँका बासिन्दाहरूले । तर, जुन व्यवस्था आए पनि तिनका दुख उस्तै रहेछन् । फेरिएको व्यवस्थाले पनि केही फेर्न नसकेको दैनिकी उस्तै रहेछ । राजधानीमा बस्नेले सायद बुझ्दैन कर्णालीका व्यथाहरू! र त आजसम्म पनि व्यवस्था/प्रणाली परिवर्तनको खास  सङ्केत पाउन सकेको छैन कर्णालीले  ।

बिहान सबेरै कालिकोटको मान्ममा सामान्य ब्रेकफास्ट गरेर हिँडेका हामीहरू आफूसँग साथमा लगेका ड्राइ फुडहरू, पानी, ब्ल्याक कफी लगायत खादै, पिउँदै, भोक बिर्साउँदै, विश्राम लिँदै आजको  खाना जति सुकै ढिलो भए पनि मुगुको गोठिज्युला भन्ने ठाउँमा पुगेर खाने तय गरियो । गोठीज्युलो पुग्दा मध्यदिन ढलिसकेको थियो । खाना खायौँ।

यात्रा जारी नै छ । आज पनि रारा पुग्ने हाम्रो सम्भावना टर्दै थियो । बाटो अप्ठ्यारो भएकोले सीमित गतिमा हाम्रो यात्रा अनवरत जारी नै रह्यो । राराको नजिक पुगियो कि भनी गरेका हाम्रा अड्कल र अनुमानहरू धेरै पटक विफल भएका थिए । रात झमक्क पर्दै थियो । हामी मुस्किलले मुगुको सल्लेरी भन्ने ठाउँमा पुग्यौँ । । यतैबाट फोन सम्पर्क गर्दै गएको  हुनाले बल्ल तल्ल  खाना र बस्ने मेसो मिलाएर त्यो रात त्यही बिताइयो ।  

अन्ततः यो यात्राको अबको हाम्रो एक मात्र मुख्य गन्तव्य रारा थियो । सल्लेरीबाट रारा तालसम्म पैदलै हिँड्दै जान पनि सकिने रहेछ तर हामीले घोडा चढेर जाने विकल्प रोज्यौं । हामी उत्साहित हुँदै एक एक वटा घोडा रिजर्भ गरेर सल्लेरी देखि रारातर्फ लाग्यौ । करिव एक घण्टाको घोडा सवारी पछि जब रारा तालको किनारमा पुगियो यति बेरसम्मका सारा थकानहरू सबै भुलिए । हाम्रा भोक प्यास सबै हराए । आँखा अगाडि राराको दृश्य एकसाथ पर्दा साँच्चिकैको स्वर्गमा अवतरण गरेको आभास हुँदो रहेछ ।

राराको अकल्पनीय शौन्दर्यताको बयान गर्नको लागि मैले कुनै शब्द भेटिन। राराको प्राकृतिक सुन्दर छटाको वर्णन गर्न म मा त्यो शब्द सामर्थ्य नै रहेन । म नतमस्तक भएँ । संसारका घुम्न लायक उत्कृष्ट स्थलहरूको सूचिमा परेका युरोप, अमेरिका लगायत सातै महादेशमा पर्ने सुचीहरू इन्टरनेटमा हेरेको थिएँ। मलाई मेरै देशको एउटा कुनामा स्वतः प्रकृतिले सिँगारेको राराको अगाडि अन्य स्थलहरुफिक्का जस्ता लागे । सायद यो अनुभूति रारा पुग्ने जो कहिले पनि गर्छन् होला ।

मनमा एक खालको उमङ्ग छाउँछ । राराको त्यो अपार निष्कलङ्क सौम्य, शान्त शीतलतासँगै हराउन मन लाग्छ । राराको किनारामा/काखमा खेल्दै फोटो खिच्दै निकैवेर सम्म दृश्यहरू नियाल्छौँ । राराको अपार मायालु काखमा लुटपुटिन पाउँदा आफूलाई धन्य महसुस हुन्छ । यतिका वर्षसम्म म किन ढिला भएँ भनेर थकथकी लाग्छ । तर, आज राराको समीपमा आफूलाई पाउँदा खुसीको कुनै सीमा रहेन ।राराको पवित्र आँगनमा खेलिरहन मन लाग्यो ।

राराको वल्लो किनाराबाट पल्लो किनारासम्म पुग्नको लागि डुङ्गा सयर झन्डै पैंचालीस मिनटको लाग्ने रहेछ । वरिपरि चारैतिर देखिने अत्यन्तै गाढा हरियालीले मन पुलकित हुन्थ्यो । तस्बिर जति खिचे पनि मन नअघाउने । पैँतालिस मिनेटको वोटिङ्ग पश्चात् हामी डाँफे होटेल रहेको पारी किनारामा पुग्छौँ । बडा दसैँको दिन भएकोले त्यहाँ घुम्न गएका आन्तरिक पर्यटकहरूमध्ये कहिले राराको किनारामा टीका र जमरा लगाएर रारा पुगेको उत्सवमा थप अर्को उत्सव थपेर महाउत्सव मनाइरहेका देखिन्थे ।

हामी रारा तालको किनारै किनार मध्यदिनसम्म पनि बिहानको खानपान सबै बिर्सेर रारालाई नियाल्दै थियौँ । पेट भोकाइ सकेको थियो तर आँखाहरू अझै पनि अघाएका थिएनन् रारालाई हेरेर ।झन्डै एक घण्टा रारा तालको बारीपट्टिको किनारामा पैदल हिड्छौं ।केहिवेरको खत्याड खोलातर्फको हिँडाइपछि होमस्टे भेटिन्छ रारा मुर्मा होमस्टेमामार्सीचामल सहितको मिठो खाना खाएर केही बेर आराम गरेपछि हामी हिँड्दै रारालाई एकैछिन दायाँ र पछि वाया पारेर राराका मनमोहक दृश्यहरू नियाल्दै सल्लेरी तर्फको यात्रा तय हुन्छ ।

ढल्किँदो दिनसँगै फेरिइरहेका राराका रङ्ग,रुप र दृश्यहरू अझ बढी मादक देखिन्थे । तिनै मादक दृश्य र रूपहरूलाई हृदय र आखाभरी सजाउँदै पुन एकपल्ट मन र अङ्गालोभरि रारालाई राख्दैथियौं अब भने रारालाई बाई बाई गर्नुपर्ने भयो । फर्किन मन नभए पनि आखिर जानु नै थियो । हामी उकालो लाग्यौ सल्लेरी तर्फको उकालो लाग्दा नलाग्दै रारा ताल दृश्य वाट अलप भइहाल्यो ।

सल्लेरीबाट सामानहरू प्याक गरिवरि हामी अब मुगुको सदरमुकाम गमगढीको लागि यात्रा तय हुन्छ । यो रात गमगढीमा बिताउने योजना अनुरूप हामी त्यतातर्फ लाग्छौ । माथिबाट अत्यन्तै राम्रो देखिने गमगढी सहरले जसरी आकर्षित गरेको थियो तर तल बजारमा पुगेपछि अलि खल्लो अनुभूति दिलायो । बाटो सँगसँगै घरका भर्याङ्गहरु जोडिएका उकुसमुकुस लाग्ने निकै साँघुरो बाटो चार पाङ्ग्रे गाडी छिर्न नै बडो मुस्किल पर्ने रहेछ ।

रात परिसकेको र नजिकमा अर्को ठाउँ नभएकोले गमगढी बस्नुको विकल्प थिएन । यतिका दिनसम्मको यात्रामा कतै पनि महसुस नभएको एक खालको त्रास गमगढी बजारले हामीलाई दियो । हामी एक छिन अलमलमा पर्यौं । एक जना स्थानीय वासी कर्मचारी साथीको सहयोगमा वास बस्ने होटेल त पायौँ तर खाना खान सक्ने परिस्थिति थिएन । भरखरै बन्दै गरेको असाध्यै ठुलो बिल्डिङभित्रको होटेल भए पनि अन्य व्यवस्थापन खानपान सरसफाइ असाध्यै न्यून स्तरको । दिउसै खाएको खत्याड खोला छेउको रारा मुर्मा होमस्टेको मिठो खानामै सन्तोष मान्दै त्यो रात गमगढीमा बित्यो ।

भोलिपल्ट झिसमिसेमै मुगुको सदरमुकाम गमगढीलाई पछाडि पार्दै हामी अघि बढ्यौ । गमगढीको शिरमा अवस्थित ताल्चा विमानस्थलको पनि अवलोकन गरियो । जुन असाध्यै साँघुरो र जोखिमयुक्त पनि रहेछ । राराको लागि सबैभन्दा नजिकको हवाई मैदान यसै विमान स्थलले पुरा गर्ने रहेछ ।

हामी आज ढिलो भए पनि जुम्लाको सदरमुकाम खलङ्गा बजार पुगेर खाना खाने र रातीसम्मै भए पनि वास बस्नको लागि कालिकोट पुग्ने योजनामा थियौ । सोही मुताबिक यात्रा अगाडी बढ्छ । बाटोमा ड्राई खाना र कफिले भोकमा सहारा बनिरहने क्रम जारी नै थियो । तिला र हिमा नदीको सङ्गम स्थल नाग्म भन्ने ठाउवाटहामी जुम्लाको सदरमुकाम खलङ्गाको लागि छुट्टिन्छौँ। खलङ्गापट्टिको बाटो निकै आकर्षक र रमणीय लाग्थ्यो । तिला नदीको किनारै किनार खलङ्गा पुगिने रहेछ । यो कुनै अर्कै संसार जस्तो अनुभूति हुने । खलङ्गामा पुगेर बिहानको खाना खाँदा दिन ढल्किसकेको थियो । चन्दननाथको मन्दिर, बुद्ध गुम्बा लगायत सरसर्ती अवलोकन गरेर हामी फर्किन्छौँ कालिकोटको मान्मको लागि । मान्ममा अबेर राती पुगेर फ्रेस भएर खाना खाम्छौँ र आरम गर्छौँ ।

अब हामी भोलिपल्ट बिहान उठेर भरे बेलुका दाङ पुग्नु थियो । बाटोमा पर्ने दैलेख जिल्लाको दुल्लु पनि एक पटक भिजिट गर्नु थियो । दैलेखको दुल्लु पुगेर खाना खाइ हामी दाङको लागि बाटो लाग्यौ । दैलेखको गुराँसे नपुग्दै पानी पर्न थाल्यौ । असाध्यै ठुलो र अनवरत वर्षा यस्तो सँग पर्योकि हामीलाई पार गर्नुपर्ने सबै अप्ठ्यारो बाटोहरू सकिएको थियो । हामी सुरक्षित स्थानमा पुगिसकेका थियौ ।हामी त सफल अवतरण भयौ तर हामीभन्दा २। ४ घण्टा पछि रहेका यात्राका मानिसहरूलाई नसोचेका दुख र आपत् आई लाग्यो ।

बाटो बिग्रिएर गाडी फसेका र मानिसहरूले सास्ती पाएका खबरहरू आएका थिए । मुसलधारे वर्षाका बिच हामी रातविरात दाङको घोराही पुग्छौँ र वास बस्छौ । भोलिपल्ट बिहानसम्म पनि वर्षा रोकिनुको साटो झन् बढ्दै थियो । अविरल परेको वर्षालाई छिचोल्दै बुटवलमा बिहानको खाना र चितवनमा साँझको खाना खाइ राती १२ बाह्र बजे काठमाण्डौवाट कर्णालीको लागि छुटेको आठौँ दिन पुनः सकुशल काठमाडौँ पुग्छौँ , एउटा नयाँ र फरक खालको अनुभूति साथमा लिएर ।

धेरैले भन्ने गरेको एउटै कुरा मलाई पनि महसुस भएको छ । रारा एक पटकको भिजिट कदापि पर्याप्त हुन सक्दैन । भिटिटिङ रारा वन्स इज नट इनफ हो त्यसैले रारा म फेरी पनि तिमीलाई भेट्न तिमीसँग पिरती गाँस्न आउनेछु । तिमीले यसरी मोहनी लगायौ कि म आजसम्म जति पनि ठाउँमा यात्रा गरेँ ती सबै विशिष्ट लाग्ने गर्थे तर जब तिम्रो समीपमा पुगेपछि ती विगतका मेरा विशिष्ट लागेका यात्राहरूमध्ये तिमी उत्कृष्ट भएर मेरो मानसपटलमा बस्यौ । निश्चित फेरी तिमीलाई स्पर्श गर्न यो हृदयभरिको माया वाकेर तिम्रो सामु छिट्टै आउनेछु ।

मायामा कुनै सर्त राख्नु हुदैन शर्त स्वार्थ हो भनिन्छ तर स्वार्थ नै सही “रारा“ र समस्त कर्णाली तिमी समक्ष मेरा केही सर्तहरू छन् । अब तिमी र म बिचको भौगोलिक दुरीलाई विकास र प्रविधिको प्रयोगले छोटो पारेको देख्न मन छ ।कर्णाली राजमार्गको गुणस्तरमा सुधार भएको हेर्न मन छ र तिम्रो समक्ष पुग्ने गन्तव्य सहज र सरल होस भन्ने अपेक्षा छ ।काठमाण्डौं लगायत मुलुकका अन्य प्रमुख सहरहरूबाट कर्णाली घुम्न चाहने पर्यटकहरूको लागि नियमित, सहज र भरपर्दो स्थल मार्ग तथा हवाई मार्ग बनोस् । कर्णाली र त्यहाँका जनतालाई साँच्चै माया गर्ने दूर दृष्टि भएका व्यक्तिहरू नेता बनुन् र तिनले समग्र कर्णालीको मुहार फेर्न दिलो ज्यान दिएर लागि परुन् । भोक, अभाव, पछौटेपन ,गरिबी ,न्यून चेतना स्तर ,कुपोषण लगायतका कर्णालीका पहिचान र परिभाषा फेरिएर त्यहाँका बासिन्दाहरूको मुहारमा खुसी झल्केको होस् । तिनले वास्तवमै लोकतन्त्र र सङ्घीयताका उपलब्धिहरूलाई नजिकबाट महसुस गर्न सकुन् । सुनको सिरानी हालेर नुनको खोजीमा भौँतारिन बाध्य कर्णालीको जनजीवनलाई त्राण मिलोस् ।

कर्णालीका हिमा, हुम्ला कर्णाली,मुगु कर्णाली नदिहरुवाट बृहत् आकारका जलविद्युतको उत्पादन भई छिमेकी मुलुकमा निर्यात गरी सेतो सुन फलिरहेको होओस् । संसारका ठुला ठुला कम्पनीहरू कर्णालीमा लगानीका लागि प्रतिस्पर्धा गरेका होउन् । कर्णाली वास्तवमै मुलुकको समृद्धिको मुहान बन्न सकेको होओस् । म चाहन्छु राराको आसपासमा सामान्य मानिसदेखि धनाढ्यहरूलाई समेट्न सक्ने सुविधा सम्पन्न होटेल रेस्टुराहरु पर्याप्त मात्रामा निर्माण होउन् । फेवातालमा जस्तै रारामा पनि स्वदेशी तथा विदेशी पर्यटकहरूको घुइँचो लागेको होओस् ।

मलाई विश्वास छ अबको रारा भिजिटमा यी मेरा सामान्य सर्तहरू पक्कै पनि पुरा भएका हुनेछन् । अब मलाई कर्णालीले यथास्थितिबाट परिवर्तनतर्फ एक फड्को मारेको हेर्न मन छ ।मलाई उमेर नपुग्दै चाउरी परेको कर्णालीवासीको मुहारमा चमक सहितको खुसी छाएको हेर्न मन छ । मलाई लाग्छ यी मेरा सर्तहरू सामान्य हुन् । र कर्णालीले पक्कै पनि मेरा सर्तहरूलाई उचित सम्बोधन गर्नेछ । भर्खरै स्थानीय निर्वाचन पनि सम्पन्न भैसकेको छ । मलाई आशा अनि विश्वास छ कर्णालीको विकास र समृद्धि देख्न लालायित मेरोअपेक्षाहरु साकार हुनेछन् । संसारका पर्यटकलाई पटक पटक तान्नेछ रारा र समग्र कर्णालीको अलौकिक भूगोल र त्यहाँको अनुपम शौन्दर्यताले ।