एसइईको नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एसइईको नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने


२८ असार २०७९, मंगलबार


काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ ।

माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षा नियन्त्रण कार्यालयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तर पुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यालयले बताउँदै आएको थियो । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले भने, ‘असार मसान्तभित्र गर्ने भनेर तयारी थालेका थियौँ । तर, उत्तर पुस्तिका सङ्कलनमा ढिला भएकाले नतिजा सार्वजनिक गर्न पनि ढिला हुने भयो । सम्भवतः साउन पहिलो हप्ताभित्र सार्वजनिक गर्छौँ ।’

देशभरका ५६ परीक्षण केन्द्रहरुबाट उत्तर पुस्तिका असार २१ गते एसइई परीक्षा नियन्त्रण कार्यालयमा जम्मा भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष विद्यार्थीहरुको प्राप्ताङ्क प्रदेशले नै अपडेट गर्ने बताउँदै आएको थियो । तर, प्रदेशले अपडेट गर्ने सफ्टवेयर जडान भई नसकेकाले यो पटक केन्द्रबाटै सबै नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

२०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसइईको परीक्षण भइसकेको उत्तर पुस्तिकालाई सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा जम्मा गरिएको थियो ।

त्यसैगरी जापानबाट एसइई परीक्षा दिएका विद्यार्थीको उत्तर पुस्तिका पनि नेपालमा नै ल्याएर परीक्षण गरिएको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस