बल्ल प्रसारण लाइनको बाटो खुल्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बल्ल प्रसारण लाइनको बाटो खुल्यो


२५ असार २०७९, शनिबार


जाजरकोट । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरभन्दा बाहिरका स्थानीय तहमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा यहाँका स्थानीयवासी समस्यामा छन् ।

जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका सबै भूभागमा राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन ।

स्थानीयवासी खमारीखोला लघु जलविद्युत् आयोजना र बाबियाचौर लघु जलविद्युत् आयोजनाबाट विद्युतीय सेवा लिइरहेका छन् । पश्चिम सुर्खेतमा केन्द्रीय प्रसारण विद्युत्को लाइन लिने उदेश्यका साथ २०७३ सालमा पञ्चपुरी नगरपालिका–६ मा विद्युत् सवस्टेशन निर्माण भए पनि नेपाल विद्युत् प्राधिकरणले हालसम्म पनि उक्त सवस्टेशन प्रसारण लाइनसँग जोड्न नसक्दा केन्द्रीय प्रसारण पुर्याउन चुनौती थपिँदै आएको छ । प्रसारण लाइन लिनका लागि वन क्षेत्र प्रयोग गर्नुपर्ने भएपछि लाइन लिन नसकिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले उक्त क्षेत्रमा खम्बासमेत पुर्याइसकेको छ । विसं २०७३ मा नेपाल विद्युत् प्राधिकरणले पश्चिम सुर्खेतमा विद्युतीकरण गर्न बाबियाचौरमा सवस्टेसन निर्माण गरेको थियो । तर सञ्चालनमा नआएपछि अहिले सवस्टेसनमा भएका संरचनासमेत बिग्रँदो अवस्थामा छन् ।

सवस्टेशनको काम पूरा भए पनि विद्युत् लाइनका लागि सामुदायिक वन क्षेत्र प्रयोग गर्नुपर्ने हुन्छ । लाइन विस्तारका क्रममा रुख काटिने भएपछि प्रसारण लाइन विस्तारको काम रोकिएको हो ।

नेपाल विद्युत् प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयले भने आयोजनाको काम चाँडै सुरु हुने जनाएको छ । प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख शम्भुकुसियत यादवले भर्खरै अनुमति पाएकाले छिट्टै काम सुरु हुने बताए ।

३३ केभी विद्युत् विस्तारको काम सुरु गरिँदै
कोहलपुर–वीरेन्द्रनगर जोड्ने १३२ केभी प्रसारण लाइन विस्तारमा ढिला हुने देखिएपछि कैलालीबाट ३३ केभी विद्युत् विस्तारको काम सुरु गरिएको छ । कोहलपुरबाट ल्याइएको विद्युत्ले सुर्खेतसहित अन्य जिल्लाको भार धान्न नसकेपछि थप लाइन वीरेन्द्रनगर ल्याउन लागिएको हो ।

वीरेन्द्रनगर ल्याउन लागिएको विद्युत् लाइन कैलालीको चिसापानी–सोल्टा–बाबियाचौर–बड्डिचौर–बाँगेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदेबुदे सवस्टेशनमा जोडिनेछ । मोहन्याल गाउँपालिकामा विद्युत् विस्तारका लागि सोल्टासम्म ३३ केभी लाइन नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कैलालीले यसअघि नै विस्तार गरिसकेको छ ।

सोल्टाबाट बाबियाचौरसम्म लाइन विस्तारका लागि २४ किलोमिटरमा थप खम्बा हाल्ने र तार विस्तार गर्न ठेक्का आह्वान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस