काठमाडौँ । लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय रहेकी स्रष्टा सुशीला पौडेलले आफ्ना दुई कृतिहरू सार्वजनिक गरेकी छिन् ।
पौडेलले “मुक्तक मनुषी” मुक्तक संग्रह र “खुसी विनाको मुस्कान” गजल संग्रह सार्वजनिक गरेकी हुन् । पौडेलका यसअघि सञ्चार उमङ्ग गीति एल्बम र तृषा उपन्यास सार्वजनिक भइसकेका छन् ।

सर्लाहीको लालवन्दीमा जन्मिएकी सुशीलाले स्कुले जीवन देखी नै साहित्यमा रुचि राख्दै आएकी उनकी ममतामयी आमा राधा पौडेलले बताइन् ।
दुवै कृतिको आवरण युवा चित्रकार प्रसन्न सुवेदीले गरेका छन् ।
मुक्तक मनुषी मुक्तक संग्रहमा रहेका २०१ वटा मुक्तकका लागि स्केच पनि प्रसन्न सुवेदीले नै तयार पारेका हुन् । पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।

अहिलेसम्म उनका ४० भन्दा बढी गीतहरू बजारमा आइसकेका छन् । दर्जनौँ गजल, कविता, मुक्तकहरू फुटकर रूपमा प्रकाशन भएका छन् ।
मुक्तकमा विद्यावारिधि गरेका मुरारी पराजुलीले मुक्तक मनुषीमाथि आफ्नो समीक्षात्मक टिप्पणी राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि युवा नेता गगन थापा रहेका थिए भने डा. गीता त्रिपाठीले सभाध्यक्षता गरेकाे कार्यक्रममा २ सयभन्दा बढी साहित्य अनुरागीको उपस्थिति रहेको थियो ।