काठमाडौँ । आज बिहान देशभर सामान्य बदली रहेको छ । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
काठमाडौंमा आज दिनभर मौसम बदली हुनेछ । काठमाडौँका केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ । विभागका अनुसार दिउँसो पनि केही समय वर्षा हुने र केही समय पानी पर्ने क्रम चलिरहने छ भने काठमाडौंमा आज सामान्यदेखि मध्यम वर्षा हुने देखिएको छ ।
आगामी तीनदिन देशभर सामान्यदेखि मध्यम वर्षा भए पनि ठूलो भारी वर्षाको सम्भावना नरहेको पनि विभागले जनाएको छ ।
आज राति गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि पानी पर्ने विभागले जनाएको छ ।
पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।