काठमाडौँको हैजा रोकथाम र नियन्त्रणमा के गर्दैछन् स्वास्थ्य कार्यालयहरू ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँको हैजा रोकथाम र नियन्त्रणमा के गर्दैछन् स्वास्थ्य कार्यालयहरू ?


२१ असार २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा हालसम्म हैजाका १७ जना बिरामी भेटिएका छन् । बिरामी मध्ये ५ जनाको अस्पतालमा उपचार भइरहेको छ । अन्य उपचारपछि घर फर्किएका छन् ।

उपत्यकामा हैजासँगै झाडापखालाका बिरामी पनि बढेका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार दैनिक सरदर १० जना झाडापखालाका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।

दूषित पानीका कारण काठमाडौँ उपत्यकामा हैजा फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । काठमाडौँ खानेपानी लिमिटेडको सहकार्यमा काठमाडौँका विभिन्न स्थानबाट लिएका ६४ वटा पानीको नमुना परीक्षण गर्दा ४१ वटा पानीको नमुनामा इकोली जीवाणु भेटिएको छ । यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरबाट लिएर परीक्षण गरेका १८ वटा नमुनामध्ये १२ वटा नमुनामा इकोली जीवाणु भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

उपत्यकामा देखिएको हैजा र यसको रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका स्वास्थ्य कार्यालयहरूले के कसरी काम गरिरहेका छन्? कार्यालय प्रमुखहरूसँग गरिएको कुराकानीको सम्पादित अंश ।

वसन्त अधिकारी, स्वास्थ्य कार्यालय, काठमाडौँ
काठमाडौँमा पहिलो पटक असार २ गते बागबजारमा हैजाका बिरामी भेटिएका थिए । अहिलेसम्म काठमाडौँको बागबजारसहित टेकु, बालाजु, डिल्लीबजार, बल्खु, कपन र चन्द्रागिरिमा हैजाका बिरामी फेला परेका छन् । र १७ जनामा हैजा पुष्टि भएको छ ।

हैजा पुष्टि भएका क्षेत्रमा अनुसन्धान गरेका छौँ । हैजाका बिरामी भेटिएका क्षेत्रमा हैजा फैलिएको छैन । धेरैजसो उपचारपछि ठिक भइसकेका छन् । बिरामीले के कस्ता खानेकुरा खाएका थिए ? कस्तो पानी प्रयोग गरेका थिए ? भन्ने बारेमा अनुसन्धान गर्ने काम भएको छ ।

बिरामीहरूले प्रयोग गरेको पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा उक्त पानी पिउनका लागि अयोग्य पाइएको छ । दिसामा देखिने कीटाणु पानीमा फेला परेको छ । अहिलेसम्मको अनुसन्धान र ल्याब परीक्षणबाट बिरामीहरूले दिसा मिसिएको पानी खाएको र पानीबाटै हैजा फैलिएको पाइएको छ ।

धाराको पानी, जारको पानी र जमिनमुनिको पानी परीक्षण गर्दा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको छ । पानीको अनुगमन गर्नका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई आग्रह गरेका छौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सप्लाइ गरेको पानी पनि दूषित पाइएको छ । यसबारे ध्यानाकर्षण गराएका छौँ ।

योसँगै खुला ठाउँमा खुला रूपमा बिक्री खानेकुराहरू चनाचटपे, पानी पुरी लगायतको गुणस्तर कायम गर्न र अनुगमन गर्न काठमाडौँ महानगरलाई भनेका छौँ । पानीलाई शुद्धीकरण गरेर खानका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौँ । साथै सचेतनाका कार्यक्रम गर्न स्थानीय तहलाई पनि अनुरोध गरेका छौँ ।

काठमाडौँमा अहिलेसम्म हैजा नियन्त्रण अवस्थामै छ । कारणवश महामारीको रूप लिएमा औषधि अभाव नहुने गरी व्यवस्था मिलाउन स्वास्थ्य सेवा विभागलाई अनुरोध गरेका छौँ । जीवनजल, सलाइनपानी स्टकमा राख्न विभागलाई अनुरोध गरिएको छ ।
पानी नउमाली पिउने हो भने हैजाले महामारीको रूप लिन सक्छ । त्यसैले सबैलाई शुद्ध र उमालेको पानी पिउन अनुरोध गर्दछु ।

सतिस विष्ट, प्रमुख, स्वास्थ्य कार्यालय, ललितपुर
ललितपुरको सानेपासहित दुई स्थानमा हैजा पुष्टि भएको छ । हैजा भेटिएपछि जिल्ला विपद् समितिको बैठकले विभिन्न कार्ययोजनाहरु बनाएको छ । सञ्चारमाध्यम मार्फत जनचेतना जगाउने र विद्यालय नर्स मार्फत सचेतना फैलाउने काम भएको छ ।

महिला स्वंसेविकहरुलाई ओरिन्टेशन गरेर टोल टोलमा परिचालन गरेका छौँ । व्यक्तिगत सरसफाइ, पानीको शुद्धीकरण लगायतका विषयमा उनीहरूले नागरिकहरूलाई जानकारी गराउने गरेका छन् । स्वास्थ्यकर्मीहरूलाई अलर्ट अवस्थामा राखेका छौँ ।

ललितपुर महानगरपालिकाको तर्फबाट सबै वडामा माइकिङ भएको छ । प्रत्येक स्थानीय तहमा रहेको ¥यापिट रेस्पोन्स टिमलाई तयारी अवस्थामा राखेका छौँ । हैजाका बिरामीहरू फेला परेमा के गर्ने ? भन्ने बारेमा स्वास्थ्यकर्मीलाई तालिम दिएका छौँ । अर्कोतर्फ बिरामीहरू अस्पताल आएमा असपतालहरुले पनि केस स्टडी गर्न र जानकारी गराउन भनेका छौँ ।

पानीबाटै हैजा फैलिएकोले पानीका मुहानहरूको परीक्षण गर्ने काम भइरहेको छ । यसका लागि हाम्रो टोलीले काम गरिरहेको छ । आइतबारबाट पिउने पानीको अनुगमको काम सुरु गरेका छौँ । पानी व्यवसायीहरूसँग पनि छलफल गरेका छौँ । पानी उत्पादन गर्ने कम्पनीहरूलाई पानीको गुणस्तर कायम गर्न भनिएको छ ।

खानेकुराबाट पनि हैजा फैलिने भएकाले महानगरले खुल्ला स्थानमा खानेकुरा बेच्न रोक लगाएको छ । पाटन अस्पताललाई हैजाको डेडिकेटेड अस्पताल तोकिएको छ । अन्य अस्पताललाई तयारी अवस्थामा रहन भनिएको छ । सबै पालिकामा आवश्यक औषधि खरिद गरेर बफर स्टक राख्न भनेका छौँ ।

कृष्णबहादुर मिजार, प्रमुख, स्वास्थ्य कार्यालय, भक्तपुर
भक्तपुर जिल्लामा अहिलेसम्म हैजाको बिरामी भेटिएको छैन । तर, पनि हैजा फैलन सक्ने जोखिम रहेकाले सतर्क अवस्थामा छौँ । हैजा रोकथाम र नियन्त्रणका लागि चार वटै स्थानीय तहका स्वास्थ्य शाखाका संयोजकहरूलाई सतर्क रहन भनेका छौँ ।

हैजा फैलन सक्ने पानीका स्रोतहरूको परीक्षण र व्यवस्थित गर्न भनिएको छ । बोडेको खानेपानी व्यवस्थित गर्ने कार्य भएको छ । महिला स्वंसेविकाहरुलाई परिचालन गरी उमालेको पानी पिउन अनुरोध गरेका छौँ ।

जिल्लाका सबै अस्पतालहरूलाई सजक हुन भनेका छौँ । बिरामी आएमा उनीहरूको बारेमा जानकारी गराउन भनेका छौँ । औषधि स्टक छ । परिस्थिति अनुसार व्यवस्थापन गर्ने गरी तयारी अवस्थामा छौँ ।

बजार अनुगमन तीव्र
काठमाडौँमा हैजा फैलिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार तथा उद्योग निरीक्षण अनुगमन तीव्र पारेको छ । विभागले प्रशोधित पिउने पानी, होटेल रेस्टुरेन्ट क्यान्टिन तथा सडक छेउछाउ बिक्री वितरण गरिने खाद्य पदार्थको अनुगमन निरीक्षण गरेको प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए ।

उनका अनुसार असार १२ देखि १७ गतेसम्म २९ वटा प्रशोधित पानीका उद्योगहरू र २२ वटा होटेल रेस्टुरेन्ट क्यान्टिन तथा स्ट्रिट फुडहरूको निरीक्षण अनुगमन गरिएको छ । काठमाडौँको टोखाका दुई वटा पानी उद्योगको अवस्था सन्तोषजनक नभएकोले सुधार नहुन्जेल उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको छ भने ३३ थान पुराना जारहरू र म्याद सकिएको खाद्य पदार्थ नष्ट गरिएको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस