निगमले फेरि बढायो पेट्रोल-डिजेलको मूल्य « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निगमले फेरि बढायो पेट्रोल-डिजेलको मूल्य


२१ असार २०७९, मंगलबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य बढाएको छ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा ९ रुपैयाँ र हवाइ इन्धन आन्तरिकमा पाँच रुपैयाँ बढाएको हो।

हवाइ इन्धन आन्तरिकको मूल्य १९० रुपैयाँ लिटर पर्नेछ। एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रुपैयाँ नै छ।

यसअघि असार ११ गते मात्र आयल निगमले पेट्रोलमा २० रुपैयाँ डिजेल र मट्टितेलमा २९ रुपैयाँ घटाएको थियो।

निगमका अनुसार भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यका आधारमा भाउ बढाउनु परेको हो।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैँ कच्चा तेल खरिद गर्दैन। भारतीय आयल कर्पोरेसन (आइओसी) बाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत अन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस