बजेट आश्रित तीन वटै विधेयक पारित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बजेट आश्रित तीन वटै विधेयक पारित


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभाले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ ।

आज (शुक्रबार) बसेको राष्ट्रिय सभाको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औँ संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

यी तीन वटै विधेयक असार ६ गते प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो ।

राष्ट्रिय सभाले तीन वटै विधेयक पारित गरेर प्रतिनिधि सभामै फिर्ता पठाएको छ ।

राष्ट्रिय सभाले संदेशसहित फिर्ता पठाएको तीन वटै विधेयकलाई प्रतिनिधि सभाले पारित गर्नुपर्ने हुन्छ ।

विनियोजन विधेयक र बजेट आश्रित तीन वटै विधेयकलाई प्रतिनिधि सभाले पुनः पारित गरेपछि बजेट संघीय संसदबाट पूर्ण रुपमा पारित हुनेछ । प्रतिनिधिसभाको बैठक असार २० गते बोलाइएको छ ।

यी चार वटै विधेयक प्रतिनिधि सभाले पुनः पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ ।

यी विधेयकहरु आगामी साउन १ गतेदेखि लागू हुने भएकाले त्यस अगावै राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने हुन्छ ।

राष्ट्रपतिबाट बजेट र बजेट आश्रित विधेयकहरु प्रमाणीकरण भएपछि मात्रै बजेट खर्च गर्ने बाटो खुल्ने संवैधानिक व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस