‘नागरिकता लगायतका महत्वपूर्ण विधेयक पारित गर्नुपर्ने अभिभारा छ’ : सभामुख सापकोटा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘नागरिकता लगायतका महत्वपूर्ण विधेयक पारित गर्नुपर्ने अभिभारा छ’ : सभामुख सापकोटा


१६ असार २०७९, बिहिबार


काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाले संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्‍याउनु पर्ने अभिभारा आफू सामू रहेको बताएका छन् । ‘संसद दिवस २०७९’ को अवसरमा आज शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले सो कुरा बताएका हुन् ।

सन्देशमा लेखिएको छ, ‘दुई–दुई पटकको विघटन, कोभिड सङ्कटलगायत विविध समस्याहरूका बीचबाट संसदले आफ्ना कार्यहरू निरन्तर अगाडि बढाइरहेको छ । हामी सामु संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरू पारित गर्नु पर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्‍याउनु पर्ने अभिभारा छ ।’

संसद दिवसले लोकतान्त्रिक परिपाटीको रक्षा र सुदृढीकरणका लागि संघीय संसद्का सदस्यहरु, संविधान सभाका सदस्य, पूर्वसांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा एकजुट हुन प्रेरणा मिल्ने विश्वाससमेत सभामुखले लिएका छन् ।

संसद दिवसका अवसरमा संविधान निर्माणपछिको पहिलो संसदले भोग्नु परेका विविध आरोह-अवरोह, नयाँ संविधान जारी भएपछिको संघीय संसदसँगका जनअपेक्षा र हाम्रा कामहरूको समीक्षा गर्ने बेला आएको समेत सभामुखले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस