जनप्रतिनिधिले काम गरेर प्रतिफल दिनुपर्छ : महामन्त्री थापा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

जनप्रतिनिधिले काम गरेर प्रतिफल दिनुपर्छ : महामन्त्री थापा


१२ असार २०७९, आइतबार


दमौली । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले काम गरेर प्रतिफल दिनुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर २ ले दुलेगौँडामा आयोजना गरेको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण कार्यक्रममा उनले जनमुखी काम गरेर जनताको विश्वास जित्दै परिणाम दिनुपर्ने बताए ।

जनप्रतिनिधिले जनमुखी काम गरेर परिणाम दिनुपर्ने बताउँदै थापाले भने, ‘जनप्रतिनिधिमाथि पाँच वर्ष धेरै ठूलो जिम्मेवारी आएको छ, केही काम गर्नुपर्नेछ, परिणाम दिनुपर्नेछ । त्यसमा जनप्रतिनिधि गम्भीर भएर लाग्नुपर्छ ।’

महामन्त्री थापाले स्थानीय तहले नागरिकको स्वतन्त्रतालाई विचार गर्नुपर्ने भन्दै शासनमा जवाफदेहिता र पारदर्शीता कायम गर्नुपर्ने धारणा व्यक्त गरे । सेवा प्रवाहमा सिर्जनशीलता हुनुपर्ने भन्दै महामन्त्री थापाले सेवा प्रवाहलाई सहज र सरल बनाउनुपर्ने बताए । ‘स्थानीय तह जनताको सेवक भएर काम गर्नुपर्छ, स्रोतको राम्रो परिचालन गर्न सक्नुपर्छ, तब मात्र जनताको अपेक्षा पूरा गर्न सकिन्छ’, महामन्त्री थापाले भने ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनताका खास मुद्दालाई एजेण्डा बनाएर अगाडि जान जरुरी रहेको बताए । काँग्रेसले देशभर सबैभन्दा बढी पालिका जितेकाले काँग्रेस कमजोर नरहेको चर्चा गर्दै पौडेलले कमजोरी सुधार्न नसक्दा केही बढी सिट जित्न नसकेको उल्लेख गरे । ‘कमजोरी सुधार्न नसक्दा पनि राम्रो सिट जित्न सकेका छौँ, कमजोरी सुधारेर व्यवस्थित ढङ्गले अगाडि जान सक्दा धेरै सिट जित्न सक्छौँ’, पौडेलले भने ।

आजको स्थितिमा काँग्रेसले एक्लै निर्वाचन जित्ने गरी तयारी गर्नुपर्ने पौडेलको भनाइ थियो । ‘हामी गठबन्धनको विरोधी होइन, तर त्यहाँ जोखिम छ, जोखिम मोल्दै गर्दा एक्लै जानुपर्ने स्थिति पनि आउन सक्छ’, उनले भने ।

तनहुँ क्षेत्र नम्बर २ का सभापति चूडामणि खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्ले, नेता यज्ञ थापालगायतले धारणा राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस