विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह


१२ असार २०७९, आइतबार


कास्की । अविरल वर्षापछि पोखरा महानगरपालिकाका विभिन्न स्थानमा डुबान तथा पहिराले भौतिक क्षति भएपछि वर्षाका कारण आउन सक्ने विपद्को जोखिमबाट जोगिन र थप सजगता अपनाउन महानगरले नगरवासीलाई आग्रह गरेको छ ।

महानगर प्रमुख धनराज आचार्यले आज एक अपिल प्रकाशित गर्दै पोखराका विभिन्न ठाउँमा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सावधानी अपनाउन नगरवासीलाई अनुरोध गरेका हुन् ।

पोखरा–२५ हेम्जामा घर डुबानमा परेको तथा केही घरमा क्षति पुगेको, पोखरा–४ मा सडक भासिनुका साथै एक घरमा क्षति पुगेको, पोखरा–१६ अर्मला, वडा नम्बर २३ चापाकोट र वडा नम्बर–१९ पुरुनचौरलगायत विभिन्न स्थानमा जमिन भासिनुका साथै ग्रामीण तथा सहरी सडकसमेत अवरुद्ध हुन पुगेको महानगरले जनाएको छ ।

महानगर प्रमुख आचार्यले प्रभावित स्थानमा जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल प्रहरी र रेडक्रससहित सरोकारवाला संस्थासँग सहकार्य गर्दै राहत उद्धार र आवश्यक सहजीकरण कार्य भइरहेको जानकारी दिए ।

अपिलमा भनिएको छ, ‘बाढी, पहिरो र डुबानलगायत कारण उत्पन्न विपद्को यो क्षणमा बर्सातका समयमा जमिन भासिने, बाढी, पहिरो र जलाशयहरुको बढी जोखिम हुने हुँदा थप सजगता अपनाउन, पूर्वसूचनारसङ्केतका आधारमा जोगिने उपाय खोज्न र विपत्तिमा सम्बन्धित निकायमा यथासक्य छिटो जानकारी गराउनुहुन सबै नगरवासी समक्ष हार्दिक अपिल गर्दछु ।’

केही दिनयताको वर्षाका कारण शनिबार पोखरा–२५ हेम्जामा ३०० घर डुबानमा परेको थियो । सोही ठाउँको पहिराले दुई घर पूर्ण क्षति भएको छ भने एक दर्जन घर जोखिममा छन् । त्यसैगरी आज बिहान पोखराको गैह्रापाटनमा पक्की सडक भासिएको थियो भने एक घरमा क्षति पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस