दोलखामा ९२५ मेट्रिक टन मल भित्रियो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दोलखामा ९२५ मेट्रिक टन मल भित्रियो


६ असार २०७९, सोमबार


चरीकोट । खेतीपाती लगाउने मुख्य समयमा किसानले मल नपाएर चौतर्फी विरोध भई रहेका बेला दोलखा जिल्लामा जेठ मसान्तसम्म ९२५ मेट्रिक टनभन्दा बढी मल भित्रिएको छ ।

जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुली शाखाले मल आपूर्ति गर्ने जिम्मेवारी पाई मल आपूर्ति गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म जिल्लामा नौ लाख २५ हजार १०० किलोग्राम मल भित्रिएको तथ्याङ्क रहेको शाखाका प्रमुख नवराज महतले बताए ।

उनका अनुसार जिल्लामा उक्त परिमाणअनुसारको युरिया, डिएपी र पोटास मल तथा कृषि चुन आपूर्ति भइसकेको छ । दोलखाको दुई नगरपालिका र सात गाउँपालिकाका सबै स्थानीय तहले सिफारिस गरेका आधारमा अनुदानमा किसानलाई वितरणका लागि उक्त मल नौ वटा नै स्थानीय तहमा आपूर्ति गरिएको शाखाप्रमुख महतले जानकारी दिए ।

नेपाल सरकारले कृषकका लागि दिएको अनुदानअनुसार युरिया मल ५० केजीको प्रतिबोरा रु ८२४, डिएपी ५० केजीको प्रतिबोरा रु दुई हजार २८९, पोटास ५० केजीको प्रतिबोरा रु एक हजार ६६५ र कृषि चुन २५ केजीको प्रतिबोरा रु १८५ ले बिक्री गर्ने गरी मल जिल्ला भित्रिएको हो ।

अनुदानमा मल वितरणका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला स्तरीय संयन्त्र खारेज भएपछि हाल उक्त काम पालिका उपप्रमुख वा उपाध्यक्ष संयोजक रहने गरी समितिलाई जिम्मा दिइएको छ ।

दोलखामा हाल ३९ वटा सहकारी सङ्घसंस्थाले अनुदानको मल ल्याउने जिम्मा पाएका छन् । जिल्लामा ९२५ मेट्रिक टन मल भित्रिए पनि कृषकले मागअनुसार मल पाउन नसक्दा मलको अभावसँगै कालोबजारी मौलाएको कृषकको गुनासो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस