केपी ओलीले नै एसपीपी अगाडी बढाएका हुन् : गौतम « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

केपी ओलीले नै एसपीपी अगाडी बढाएका हुन् : गौतम


३ असार २०७९, शुक्रबार


काठमाडौँ। राष्ट्रियसभाका सांसद एवम् पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दाबी गरेका छन् ।

सांसद गौतमले यो प्रोग्राम सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजीनिती गरेको र प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताएका हुन् ।

गौतम कोइराला नेतृत्वको सरकारको उपप्रधानमन्त्री थिए । यसको सुरुवात जसले गरे पनि त्यस बेलाका प्रधानमन्त्री ओली यसलाई अघि बढाउन काममा संलग्न भएको उल्लेख गर्दै उनले सदनलाई पनि सो कुरा बताउनुपर्ने माग गरे ।

उनले अध्यक्ष ओलीप्रति सङ्केत गर्दै सो सत्य कुरा बताउँदा कुनै पनि पार्टी र त्यसका नेताको व्यक्तित्व सानो नहुने बताए । सांसद गौतमले सरकार र सरकारको नेतृत्वको गरेको काँग्रेसले अघि नबढाउने भनेपछि एसपीपी सम्बन्धी समस्या समाधान भएको पनि पटक पटक दोहोर्‍याए ।

उनले सो प्रस्तावबारे संसदमा आएर जवाफ दिन भने प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।

‘अहिले एमालेका अध्यक्ष कमरेड केपी ओलीले सुरु गर्नु भयो यो सम्झौता भनेपछि सुशील कोइरालाले हो भनेको हुनाले म पनि त्यसमा संलग्न हुन्छु । म फेरि प्रधानमन्त्रीले गरेको, म त्यसमा संलग्न छैन भन्दिन । त्यो सरकारमा सामेल भइसकेपछि प्रधानमन्त्रीले गरेको काम प्रधानमन्त्रीले व्यक्त गरेको विचारसित सहमत हुनुपर्दछ ।’

उनले भने, ‘त्यसो भएर म माथि पनि आरोप लाग्न सक्दछ भनेर मैले त्यस सम्बन्धमा खोजी नीति गर्दा अब के के भएको हो, अस्तीमात्रै एउटा पत्र आएको छ । र, त्यो पत्रले प्रस्ट पारिदिएको छ–यसको सुरुवात जसले गरेको भए पनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यस बेलाका प्रधानमन्त्री भएको अध्यक्षज्यू, त्यसमा संलग्न हुनुहुन्छ । अव सदनलाई साँचो कुरा बताउनु पर्दछ–र सत्य बताउँदा कोही पनि सानो हुँदैन ।’

सांसद गौतमले प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा उठेका प्रश्नको जवाफ आफैँले नदिएर संसदीय मर्यादामाथि आघात पुर्‍याएको दाबी समेत गरे । उनले भने, ‘जे भए पनि उहाँले संसदमा फेस गर्नुपर्थ्यो । तर गृहमन्त्रीलाई पठाउनु भयो । संसदलाई भन्नु पर्दथ्यो र मेरो अनुरोध छ-नेपाली काँग्रेसका नेताहरु, माननीय सदस्यहरु, जो यहाँ हुनुहुन्छ । सम्माननीय प्रधानमन्त्री शेरबहादुरजीलाई यो खबर पुर्‍याउनुपर्छ । उहाँले आएर भिन्न सन्दर्भमा पनि यसलाई बताउनु सक्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस