जलविद्युत् आयोजना प्रभावितका लागि आइपीओ खुला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जलविद्युत् आयोजना प्रभावितका लागि आइपीओ खुला


३ असार २०७९, शुक्रबार


बागलुङ । सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गरेको हो ।

आयोजना प्रभावित बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका बासिन्दाका लागि साधारण शेयरको बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका स्थानीय प्रतिनिधि जीवन बस्नेतले शेयर खरिदका लागि यही असार १६ गतेसम्म आवेदन दिन सकिने बताए ।

सो अवधिमा मागअनुसार आवेदन नपरे असार ३० गतेसम्मलाई म्याद थप हुनसक्ने उनको भनाइ छ ।

न्यूनतम १० देखि ३० हजार कित्तासम्म शेयर खरिदका लागि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ ।

स्थानीयवासीले ग्लोबल आइएमई बैङ्कको बागलुङ शाखा, गलकोट शाखा, प्रभु बैङ्कको गलकोट शाखा र ताराखोला शाखाबाट शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा भएको प्रमाणित गर्ने स्थानीय तहबाट जारी कागजातलाई अनिवार्य समावेश गरी दरखास्त बुझाउनुपर्ने जनाइएको छ ।

कम्पनीले ताराखोला गाउँपालिका–३ मा साढे दुई मेगावाटको ‘दरमखोला–ए जलविद्युत् आयोजना’ निर्माण गरेको छ ।

रु ५१ करोडको लागतमा बनेको उक्त आयोजनामा ७५ प्रतिशत लगानी गैरआवासीय नेपालीको छ । निजी क्षेत्र र स्थानीयवासीले पनि आयोजनामा लगानी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस