एसपीपी प्रकरण : परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति शर्मा संसदीय समितिमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एसपीपी प्रकरण : परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति शर्मा संसदीय समितिमा


३ असार २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मा सहभागी भएका छन्। स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न संसदीय समितिले परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति शर्मालाई आमन्त्रण गरेपछि उनीहरू गएका हुन्।

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाली सेनाको सहभागिता र सेनापतिको आसन्न अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले महारथी शर्मालाई बोलाएको हो।

समितिकी सभापति पवित्रा निरौला खरेलले सेनापतिको अमेरिका भ्रमण र एसपीपीमा सेनाको भूमिकाबारे जनआवाज उठेकाले संसदीय समिति स्पष्ट हुन खोजेको बताइन्। शुक्रबार बिहान ९ बजेदेखी सिंहदरबारमा छलफल जारी रहेको छ। बैठकमा पूर्वरक्षामन्त्री ईश्वर पोखरेल र भीम रावल पनि सहभागी छन्।

नेपाली सेनाले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्बन्धी सार्वजनिक पत्रको सान्दर्भिकता अहिले नभएको जनाएको छ। सन् २०१५ को अक्टोबर २७ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई स्टेट नेसनल गार्डसँग सहकार्यका लागि अनुरोध गर्दै लेखेको पत्र सार्वजनिक भएको थियो। त्यसपछि पत्रको आधिकारिकताबारे प्रश्न उठिरहेको छ। यसमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पत्र आधिकारिक नै भएको पुष्टि गरेको हो।

सेनाका अनुसार नेपालमा विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षतिमा छिमेकी तथा विभिन्न मित्र राष्ट्रले उद्धारमा सहायता गरेको र त्यसको व्यवस्थापन नेपाली सेनाले गरेको थियो। जंगी अड्डाले फेरि झन् ठूलो भूकम्प जाने सम्भावना भनेपछि सन् २०१५ मा आधुनिक उद्धार प्रविधि र अनुभव साटासाटका लागि विभिन्न देशलाई अनुरोध गर्ने क्रममा अमेरिकालाई अनुरोध गरिएको र अहिले त्यसको सान्दर्भिकता नरहेको जनाएको छ। यसबारे यथार्थ विवरण लिन समितिमा बोलाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस