विश्व व्यवस्थामा चिनियाँ चुनौती सामना गर्न बाइडेनको बेइजिङ रणनीति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विश्व व्यवस्थामा चिनियाँ चुनौती सामना गर्न बाइडेनको बेइजिङ रणनीति


२ असार २०७९, बिहिबार


बेइजिङ । अन्तर्राष्ट्रिय व्यवस्थामा चीनलाई चुनौतीको रूपमा चित्रण गर्दै राष्ट्रपति जो बाइडेनले अमेरिकी हित तथा नियममा आधारित प्रणालीको रक्षा गर्न चीनसँग प्रतिस्पर्धा गर्ने रणनीति अघि सारेका छन् ।

अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनले आफ्नो नीतिगत सम्बोधनमा रुसभन्दा चीनले अन्तर्राष्ट्रिय प्रणालीमा सबैभन्दा गम्भीर चुनौती खडा गरेको खुलासा गर्दै विश्व व्यवस्थालाई पुनः संरचना गर्ने आर्थिक, कूटनीतिक, सैन्य र प्राविधिक क्षमता भएको एक मात्र देश चीन भएको बताएका हङकङ पोस्टले जनाएको छ ।

चीन विश्व अर्थतन्त्र र जलवायु परिवर्तनदेखि कोभिडसम्मका समस्याहरूलाई सम्बोधन गर्ने क्षमताका लागि पनि महत्त्वपूर्ण भएको उल्लेख गर्दै हङकङ पोस्टले चीनको समस्यासँग जुध्न बाइडेनको दृष्टिकोण अपर्याप्त भएको टिप्पणी गरेको छ ।

अमेरिकी विदेश मन्त्रीले गत हप्ता अमेरिकाको नेतृत्वमा रहेको इन्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क फर प्रस्परिटीको सुरुवात भएको बताएका थिए ।

उनको यही भनाइलाई लिएर उक्त पत्रिकाले हिन्द–प्रशान्त क्षेत्रमा परम्परागत सुरक्षा सहयोगभन्दा आर्थिक सहयोगलाई समर्थन गर्ने र चीनलाई आफ्नो प्रमुख व्यापारिक साझेदार मान्ने भएकाले यस ढाँचामा स्वतन्त्र व्यापार सम्झौता समावेश हुनुपर्नेमा जोड दिएको छ ।

यसैबीच, अमेरिकी सांसदहरूको द्विपक्षीय समूहले सरकारलाई चीनमा अर्बौँ लगानी कटौती गर्न अनुमति दिने घोषणा गरेको छ ।

देशको राष्ट्रिय एवम् आर्थिक सुरक्षाका निम्ति लगानी कटौती गर्नेसम्बन्धी सम्झौतालाई अनुमति दिने निर्णय भएको जनाइएको छ । स्वदेशी उद्योगका सरोकार सम्बोधन गर्न सांसदहरूले उक्त निर्णय गरेका बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस