चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेशमा निषेध « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेशमा निषेध


१ असार २०७९, बुधबार


पूर्वी नवलपरासी । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आज (बुधबार)देखि निकुञ्जभित्र प्रवेशमा रोक लगाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची बाटो बिग्रने, जङ्गलका स–साना खोलामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुनसक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो ।

अर्को सूचना नआएसम्म जङ्गलमा जान नपाइने जनाइएको छ । यस क्रममा निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाक लगायत गतिविधि बन्द गरिएको हो ।

यस्तै वर्षातको समयमा डुङ्गा सफारी गर्दा जोखिम हुने भएकाले यसलाई पनि बन्द गरिएको छ । निकुञ्जभित्र आएका पर्यटकबाट यस वर्षको गत वैशाखसम्म १० करोड भन्दा बढी राजश्व सङ्कलन भएको निकुञ्जका सूचना अधिकृत तिवारीले जानकारी दिए ।

हरेक वर्ष सामान्यतः असारदेखि भदौसम्म निकुञ्जमा अफ सिजन मानिन्छ । सौराहामा मानव चाप बढी भएका कारण गैँडा लगायत वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकहरू पूर्वी नवलपरासीको अमलटारी क्षेत्रमा आउने गरेका छन् । त्यहाँको फराकिलो घाँसे मैदानमा गैँडाको बथान नै देखिने गरेका कारण पर्यटकहरू नवलपरासीतर्फ बढी आउने गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस