जनक शिक्षाको बचाउमा शिक्षामन्त्री पौडेल : कर्मचारी चुनावमा जानैपर्ने बाध्यताले पुस्तक छपाइमा ढिलाइ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जनक शिक्षाको बचाउमा शिक्षामन्त्री पौडेल : कर्मचारी चुनावमा जानैपर्ने बाध्यताले पुस्तक छपाइमा ढिलाइ


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । विद्यार्थीका लागि पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले काम नगरेको भन्दै सांसदहरूले उठाएका प्रश्नको आलोचना गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काम भइरहेको बताएका छन् । 

प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा मन्त्री पौडेलले जनक शिक्षा सामग्री केन्द्रको बचाउ गरेका हुन् । 

सांसदहरूले पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाउने तर समयमा कहिल्यै पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुर्‍याउने जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नुपर्ने धारणा राखेका थिए । 

मन्त्री पौडेलले त्यस्ता धारणाले आफूलाई दुःख लागेको बताए । जनक शिक्षा सामग्री केन्द्र खारेज गर्दा पनि हुन्छ भन्ने कुरा यहाँ उठाउनुभयो । मलाई दुःख लागेको छ । बौद्धिक माननीय सदस्यज्यूहरूले यस प्रकारका कुरा नराखिदिँदा हुन्छ, उनले भने ।

संघीय राजधानी काठमाडौँकै विद्यालयमा पुस्तक नपुगेको र दुर्गममा पुस्तक पुर्‍याउनका लागि जनक शिक्षाले तदारुकता नदेखाएको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका थिए । 

मन्त्री पौडेलले भने, निशुल्क पाठ्यपुस्तक छपाइ तथा वितरण शैक्षिक सत्र २०७९ मा विद्यार्थीका लागि निशुल्क पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १-३ को निजी प्रकाशनबाट र कक्षा ४-१२ को पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ तथा वितरण हुने व्यवस्था गरिएको छ ।

जनक शिक्षा सरकारको स्वायत्त निकाय भएको बताउँदै मन्त्री पौडेलले त्यसलाई सुदृढ बनाउन सांसदहरूले पनि भूमिका खेल्नुपर्ने बताए । राज्यको तर्फबाट त्यसलाई सबल, बलियो, राम्रो बनाउनु, सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो । त्यस कारण त्यसलाई खारेज गर्ने होइन असक्षमता कार्यसम्पादनमा त्रुटि छ भने सबल बनाउनका निम्ति आवश्यक सहयोग गर्ने, परिमार्जन गर्ने, प्रविधियुक्त गर्ने र व्यवस्थित गर्ने कुरा हाम्रो दायित्वको कुरा हो, उनले भने ।

पाठ्यपुस्तक छपाइमा ढिलाइ हुनुको कारण कोभिड १९ लगायतका कारण रहेको शिक्षामन्त्री पौडेलको भनाइ थियो । त्यस्तै, जनक शिक्षाका कर्मचारी निर्वाचनमा प्रयोग हुनुले पनि छपाइ ढिलो भएको बताए । म आफैँ जनक शिक्षामा पाँच पटक पुगेको छु । समयमा नै पाठ्यपुस्तक पुर्‍याउनुपर्छ भनेर हामीले अहोरात्र ध्यान दियौँ तर दुर्भाग्य कागजको आपूर्ति समयमा हुन सकेन, उनले भने, जनक शिक्षा सामग्रीका कर्मचारी पनि चुनावमा जानुपर्ने बाध्यता भयो । १५ दिन पाठ्यपुस्तक पुर्‍याउन ढिला भयो ।

समयमा पाठ्यपुस्तक नपुगे पनि अनलाइनमा पाठ्यक्रम र पाठ्यपुस्तक राखिएकाले त्यसैबाट वैकल्पिक व्यवस्थापन स्वरुप पठनपाठन गर्नुपर्ने शिक्षामन्त्री पौडेलको भनाइ थियो ।

जनक शिक्षा सामग्री केन्द्रका अधिकारीले पनि चुनाव, रुस-युक्रेन युद्ध र कोभिडको कारण देखाउँदै पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको बताउने गरेका छन् ।

शिक्षामन्त्री पौडेलले भने आगामी वर्षदेखि सात वटै प्रदेशमा जनक शिक्षा सामग्री केन्द्रको कार्यालय खोलेर पुस्तक छपाइ गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस