सुदूरपश्चिमका ७ जिल्ला सञ्चारविहीन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुदूरपश्चिमका ७ जिल्ला सञ्चारविहीन


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । बैतडीसहित सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला सञ्चारविहीन भएका छन्। अत्तरिया-डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकोले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिए।

सुदूरपहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको टमाटाको भनाइ छ। मंगलबार दिउँसो २ बजेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सुचारु हुन सकेको छैन्।

मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

उनले भने, ‘इन्टरनेट नहुँदा प्रशासनको सेवा दिन सकिएन, राष्ट्रिय परिचय पत्र विवरण सङ्कलन, नागरिकता विवरणलगायतका काम प्रभावित भयो, सञ्चारविहीन हुनुपरेको छ, निकै समस्या भएको छ।’

सञ्चारसेवा अवरुद्ध भएपछि अन्य सरकारी तथा गैरसरकारी संघसस्था, सञ्चारमाध्यम, वित्तीय कारोवार गर्ने सहकारी तथा बैङ्क र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ।

अवरुद्ध सञ्चार सेवा सुचारुका लागि धनगढीबाट प्राविधिकको टोली खटिएको नेपाल टेलिकम बैतडीका प्रमुख टमटाले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस