अछाममा मृत भेटिएका किशोरको शव अझै उठाइएन, स्थानीयको अवरोध कायमै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अछाममा मृत भेटिएका किशोरको शव अझै उठाइएन, स्थानीयको अवरोध कायमै


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । अछाममा १७ वर्षीय एक किशोर मृत्यु प्रकरणको अनुसन्धान जारी छ । तर, स्थानीयले घटनास्थलबाट शव उठाउन दिएका छैनन् । अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोली परिचालन गरिएको छ ।

१० कक्षामा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका-४ का १७ वर्षीय विनोदबहादुर शाही २१ गते शनिबार बिहान १० बजेर २० मिनेटमा मृत अवस्थामा फेला परेका थिए ।

पञ्चदेवल विनायक-४, कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट एक किलोमिटर टाढा जङ्गलमा उनको शव फेला परेको थियो । आफन्त र स्थानीयले उनको हत्या भएको दाबी गर्दै आएका छन् ।

अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, “दैनिक ठूलो संख्यामा स्थानीयले प्रदर्शन गरिरहेका छन् । घटनालाई राजनीतिसँग जोड्न खोजिएको छ । शव घटनास्थलमै छ । पोस्टमार्टम भए पनि अनुसन्धानमा सहयोग हुन्थ्यो । तर, सहज रूपमा काम गर्न पाएका छैनौँ ।”

प्रहरीका अनुसार स्थानीय तह निर्वाचनका बेला कालिकास्थनमा नेकपा (एमाले) र नेपाली काँग्रेसका कार्यकर्ताबिच झडप भएको थियो । मृत भेटिएका किशोर एमाले समर्थक रहेको बताइएको छ । उनका आफन्तले घटनामा काँग्रेस नेता-कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस