भेरी अस्पतालमा बिरामीको चाप बढ्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भेरी अस्पतालमा बिरामीको चाप बढ्दै


२२ जेष्ठ २०७९, आइतबार


नेपालगन्ज । गर्मी बढेर अन्य रोगका बिरामी देखिए पनि यस वर्ष भेरी अस्पताल नेपालगन्जमा ज्वरोका बिरामी देखिएका छैनन् । पहिले ज्वरोका बिरामी धेरै अस्पताल आउँथे तर यस वर्ष ज्वरोका बिरामी आएका छैनन् ।

भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले कोभिड खोपका कारण पनि त्यस्तो भएको हुनसक्ने उल्लेख गर्दै झाडापखालाका बिरामी अस्पतालमा बढी भएको जानकारी दिए ।

अस्पतालमा प्रतिदिन १०० देखि १५० जनासम्म विभिन्न रोगका बिरामी आउने गरेका छन् ।

बालबालिकादेखि वृद्धसम्म झाडापखाला, दम, टाउको दुख्ने लगायतका बिरामीले अस्पताल भरिभराउ भएको डा. रिसालले बताए ।

उनले सर्पदंशका बिरामी पनि यस वर्ष कम भएको उल्लेख गर्दै वृद्धमा दमको समस्या बढी भएकाले उपचारका लागि आउने गरेको बताए ।

भेरी अस्पतालबाहेक यहाँका नेपालगन्ज मेडिकल कलेज, रामजानकी अस्पताल, वेष्र्टन अस्पताललगायतमा झाडापखाला, दम, टाउको दुखेका बिरामी देखिएका छन् ।

चिकित्सकहरुले गर्मी याममा दिउँसो जथाभाबी बाहिर नहिँड्न, हिँड्नै परे शरीर छोपिने कपडा लगाउन र पर्याप्त मात्रामा शुद्ध तथा सफा पानी पिउन, आँखालाई संरक्षण हुने चस्मा प्रयोग गर्न सुझाव दिएका छन् ।

नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगन्जमा दिउँसो चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

मौसम विज्ञान विभागको नेपालगन्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

तापक्रम वृद्धि र ‘लु’ चल्न थालेसँगै बढी गर्मी महसुस भइरहेको स्थानीयवासीले बताएका छन् ।

त्यसैमा जथाभाबी विद्युत् कटौतीले गर्दा स्थानीयवासीले सास्ती खेपेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस