बागमतीका कृषकले दूधको अनुदान असारभित्रै पाउने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

बागमतीका कृषकले दूधको अनुदान असारभित्रै पाउने


२२ जेष्ठ २०७९, आइतबार


चितवन । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूध र पशु स्रोत केन्द्रलाई विनियोजन गरेको अनुदान रकम आगामी असारभित्र नै उपलब्ध गराउने गरी काम अघि बढाएको छ ।

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत दिइने सो अनुदानबाट प्रदेशभित्रका एक लाखभन्दा बढी कृषक प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार दूधको अनुदानका लागि रु १६ करोड र पशु स्रोत केन्द्रका लागि रु एक करोड ६० लाख अनुदान रकम विनियोजन गरिएको छ ।

आज यहाँ पत्रकारसँग कुरा गर्दै पाण्डेले भने, ‘असारभित्रै हामी अनुदान रकम बाँड्ने गरी काम गर्दैछौँ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका सचिव किशोर बगालेका अनुसार दूध अनुदानमा गत वर्ष चितवनका किसानले रु आठ करोड पाएका थिए । चितवनमा यस वर्ष १०४ सहकारी संस्थाले अनुदानका लागि आवेदन दिएका छन् ।

बगालेले भने, ‘आधाभन्दा बढी अनुदान रकम चितवनका किसानले पाउँछन् ।’ निर्देशनालयले दूधमा गत वर्ष प्रतिलिटर रु दुई अनुदान दिएको थियो । त्यसका लागि कम्तीमा रु २२ करोड आवश्यक पर्ने उनी बताउँछन् ।

गत वर्षको जति नपाएपछि केही कम रकम पाउनेमा अब ढुक्क भएको उनको भनाइ छ । आफूहरुले दबाब नदिएको भए कृषक अनुदान पाउनबाट वञ्चित हुने अवस्थामा पुगिसकेको उनी बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस