नीति तथा कार्यक्रममाथि राप्रपा लिङदेनको प्रश्न : किसानको कुरा कहाँ छ ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नीति तथा कार्यक्रममाथि राप्रपा लिङदेनको प्रश्न : किसानको कुरा कहाँ छ ?


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरुको चुनावलक्षित कार्यक्रम मात्रै भएको आरोप लगाएका छन् ।

आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद लिङदेनले यस्तो टिप्पणी गरेका हुन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा रासायनिक मल किन्न नपाएका किसानले अर्को वर्ष पाउने सुनिश्चितता नभएको भन्दै उनले यसप्रति आपत्ति जनाएका थिए ।

शैक्षिक सत्र सुरु भइसक्दासमेत विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गर्दै नीति तथा कार्यक्रममा अर्को वर्ष समयमै पाठ्यपुस्तक पाउने नीति नसमेटिनु दुःखद भएको उनको भनाइ थियो ।

‘मैले नीति तथा कार्यक्रम कसरी बन्छ भनेर विगत ५ वर्षयता हेरिरहेको छु । पाँचौँ पटक प्रधानमन्त्री हुने मौका पाउनुभएका प्रधानमन्त्रीले वा आफ्नो सरकारले अहिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा आफ्नो जिल्लामा मेडिकल कलेज स्थापना गर्ने नीति ल्याउनु भयो । मन्त्रीजीहरुको जिल्लामा ठुला ठुला बाटोहरु बनाउने नीति कार्यक्रममा छ । देशको नीति कार्यक्रम यही हो ? मैले यसो सम्झन्छु, यो नीति कार्यक्रमभित्र मैले मेरो गाउँका मानिसहरु वर्षा लाग्यो, खेतीबाली लगाउने बेला भयो, पैसा तिरेर एक बोरा युरियाको मल किन्न पाउँदैनन् । तिनीहरुको बारेमा यो नीति कार्यक्रममा कहाँ छ कुरा ? अर्को साल मल पाउने कुराको सुनिश्चितता कहाँ छ ? कहीँ देखिन्न नीति कार्यक्रमले त्यस्तो विषयहरु छुनु पर्छ कि पर्दैन ? सांसद लिङदेनले प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस