राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रमलाई पारित गर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जवाफसमेत दिएका थिए ।

नीति तथा कार्यक्रममाथि परेको संशोधनको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

सांसदहरु डा. बेदुराम भुसाल, शेखरकुमार सिंह, डा. विमला राई पौड्याल, भैरवसुन्दर श्रेष्ठ, देवेन्द्र दाहाल र भगवती न्यौपानेले स्पष्टीकरण माग गरेका थिए ।

स्पष्टीकरण मागपछि जवाफ दिने क्रममा कानूनमन्त्री कोइरालाले सबै जिज्ञासा स्वाभाविक भएको बताउँदै जडीबुटी उत्पादन र प्रशोधनलाई सरकारले प्राथमिकतामा राखेको र आउँदो बजेटमा त्यसलाई समेटिने विश्वास दिलाए ।

मन्त्री कोइरालाले पेट्रोलियम पदार्थको मूल्य घटबढ हुने कुरा अन्तर्राष्ट्रिय बजारले प्रभावित पार्ने हुँदा त्यसमा सरकारको खासै नियन्त्रण नरहने स्पष्ट पारे ।

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा भने सर्वोच्च अदालतले बिहीबार गरेको फैसलाको अझैसम्म पूर्ण पाठ प्राप्त भई नसकेकाले थप कुरा भन्न नसक्ने स्पष्ट पारे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबारका लागि दिन तोकिएको थियो ।

बैठकको अन्त्यमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले यही जेठ १५ गते अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक बजेट प्रस्तुत हुने हुँदा सांसदहरुलाई १५ मिनेट अघि नै आशनग्रहण गरिसक्न निर्देशन दिएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ १५ गते दिउँसो ३ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस